झापा,जेठ २५ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८०–८१ को नौ महिनामा रु ११ अर्ब ६ करोड बराबरको नाफा कमाएको छ । प्राधिकरणको चालु आवको चैत महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार, यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्य आम्दानीबाट कूल रु ९३ अर्ब ९४ करोड आम्दानी गरेको छ ।

प्राधिकरणले सूचनाको हकसम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम सार्वजनिक गरेको विवरणअनुसार विद्युत् खरिद, प्रशासनिक, आयोजनामा लगानीलगायतमा जम्मा रु ८२ अर्ब ८८ करोड खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः विद्युत् बिक्री र खरिद तथा आयोजनामा हुने गरेको छ ।

प्राधिकरणले यसअवधिमा रु ११ अर्ब छ करोड नाफा (करकट्टी गर्नुअघि अपरिष्कृत) आर्जन गरेको हो । गत आर्थिक वर्ष २०७९÷८० को सोही अवाधिमा प्राधिकरणको नाफा रु आठ अर्ब ८८ करोड थियो । गत आवको मुनाफा रु १३ अर्ब ३७ करोड थियो ।

प्राधिकरणको सञ्जित मुनाफा रु ३३ अर्ब ६४ करोड पुगेको छ । आव २०७२÷७३ मा रु आठ अर्ब ८९ करोड वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरुबाट निरन्तर नाफामा छ । विद्युत् चुहावट नियन्त्रण, आन्तरिकरुपमा तथा भारतर्फको विद्युत् निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको नौ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताए ।

प्राधिकरणले चालु आवको नौ महिनामा विद्युत् बिक्रीबाट रु ६८ अर्ब ८९ करोड खुद सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका निजी क्षेत्रका ऊर्जा उत्पादकबाट र आफ्ना सहायक तथा सम्बद्ध कम्पनीबाट विद्युत् खरिदका रु ३८ अर्ब २० करोड भुक्तानी गरिएको छ ।

यसअवधिमा हिउँदयामको माग धान्न रु ११ अर्ब ५५ करोडको विद्युत् भारतबाट आयात गरिएको छ । आन्तरिक रुपमा खपत गरी बढी भएको रु १३ अर्ब ४२ करोड बराबरको विद्युत् भारततर्फ निर्यात गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्