बिर्तामोड, जेठ २६ । क्षितिज नाट्य प्रतिष्ठान बिर्तामोड १ झापाले सात दिने नाट्य कलासम्बन्धी कार्यशाला संचालन गरेको छ ।

कलाकारहरुको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको सहयोगमा झापा नाटक घरमा आजदेखि सो कार्यशाला संचालन गरिएको हो । बिर्तामोड नगरपालिकाका नगर उप–प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले कार्यशालाको उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नगर उपप्रमुख संग्रौला , क्षितिज नाट्य प्रतिष्ठानका संरक्षक राजकुमार पोखरेल, नाटक घर निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रेमकुमार खरेललगायतले नाट्य कलाको विकास र व्यवसायिकरण गरिनु पर्नेमा जोड दिए । उनीहरुले समाज रुपान्तरणमा नाटकले अहम् भूमिका खेलेको धारणा राखे ।

कार्यशालाका संयोजक एवं क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले आउँदो वर्ष सार्कस्तरीय नाटक महोत्सवको आयोजना गरिने बताए ।उनले विभिन्न देशबाट प्रतिनिधित्व हुने गरी २९ वटा नाटकलाई महोत्सवमा समावेश गरिने जानकारी दिए । नृत्य बिभागका उपाध्यक्ष माधब भेट्वालले नृत्य, बाल कलाकार आशुतोष भट्टराईले नाटक, क्षितिज नाट्य प्रतिष्ठान पाँचथर शाखाका अध्यक्ष नगेन्द्र खतिवडाले गीत, दिपा ढकालले नृत्य र भिमा खतिवडाले गजल प्रस्तुत गरेको कार्यक्रममा साहित्य विभागका उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले स्वागत मन्तव्य गरेका थिए ।

क्षितिज नाट्य प्रतिष्ठानले हालसम्म १८ वटा शाखा विस्तार गरिसकेको छ । कुल ५ सय ५२ जना प्रतिभालाई जोड्न सफल प्रतिष्ठानले २५ अर्बको लगानीमा निर्माण हुने नेपालकै उत्कृष्ट सांस्कृतिक संग्रहालयको परिकल्पनामा काम भइरहेको केन्द्रीय अध्यक्ष कल्पितले बताए ।

कार्यशालामा इलाम , पाँचथर र झापा शाखाका २२ जना कलाकारहरुको सहभागिता रहने क्षितिज नाट्य प्रतिष्ठानका सचिव ताराप्रकाश भट्टराईले बताए । संस्थाका वरिष्ठ केन्द्रीय उपाध्यक्ष हरिप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रीय अध्यक्ष कल्पितले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्