झापा, जेठ २८ । सिन्धुलीको फिक्कल गाउँपालिकामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएका प्रहरी सहायक हवल्दार सूर्यकुमार श्रेष्ठको पनि मृत्यु भएको छ ।

सिन्धुली प्रहरीका एसपी गोविन्द काफ्लेका अनुसार श्रेष्ठको उपचारका क्रममा काठमाडौंको प्रहरी अस्पतालमा मृत्यु भएको हो । गम्भीर घाइते भएका श्रेष्ठलाई गोलन्जोरको खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालमा उपचारपछि हेलिकप्टरबाट प्रहरी अस्पताल लगिएको थियो ।

गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा फिक्कल गाउँपालिका–५ झगडेबेंसीको भित्री सडकमा आइतबार अपराह्न भएको दुर्घटनामा परी रत्नावती प्रहरी चौकी इन्चार्ज प्रहरी सहायक निरीक्षक रविन्द्र ठाकुरको उपचारका क्रममा आइतबारै सुनकोसी सामुदायिक अस्पताल खुर्कोटमा मृत्यु भएको थियो । धनुषाको कमला नगरपालिका–९ घर भएका ठाकुरको शव सिन्धुली अस्पतालमा पोस्टमार्टमपश्चात् सोमबार परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रदेश ३–०२–००१ब ४७९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्