झापा,जेठ २९ । स्वास्थ्य बीमा बोर्डले सेवा निरन्तरताका लागि विसं २०८१ असार मसान्तसम्म बीमा नवीकरण गरिसक्नुपर्ने जनाएको छ ।

बोर्डले एक सूचना जारी गर्दै स्वास्थ्य बीमामा विसं २०८० वैशाख १ देखि २०८० असार मसान्तमा आबद्ध नयाँ दर्ता तथा नवीकरण गरी २०८० भदौ १ गतेदेखि सेवा सुरु गरेका बीमितहरुले सेवा निरन्तरताका लागि उक्त अवधिभित्र नवीकरण गरिसक्नुपर्ने जनाएको हो ।

नवीकरणका लागि आ–आफ्नो वडामा रहेका दर्ता सहयोगीका साथै अनलाइनमार्फत गर्न सकिने बोर्डले जनाएको छ । विसं २०८१ साउन १ गते देखिको नयाँ दर्ता तथा नवीकरण स्वतः २०८१ मङ्सिर १ देखि क्रियाशील हुने सूचनामा उल्लेख छ ।

बोर्डकी सूचना अधिकारी ओमकुमारी कँडेलका अनुसार आजसम्म बीमित जनसंख्या ८० लाख ७९ हजार सात सय ८२ जना छन् । हालसम्म ५० लाख ३८ हजार आठ सय ४० जनाले नवीकरण गराएका छन् ।

सूचना अधिकारी कँडेलले सेवा लिनेले हरेक वर्ष नवीकरण गराउनैपर्ने बताइन् । उनले भनिन्, “नवीकरण आवश्यक छ । नयाँ दर्ता गराउन चाहनेले आफू बस्ने वडामा गएर स्वास्थ्य बीमा गराउन सक्छन् । प्रत्येक वडामा दर्ता सहयोगी छन् ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्