झापा, जेठ ३० । आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीचको खेल वर्षाको कारण रद्ध भएको छ । योसँगै दुबै टोलीले १–१ अंक बाँडेका छन् ।

मंगलबार रातिदेखि नै लगातार भारी वर्षा भएपछि टस पनि हुन नसकी खेल रद्ध भएको हो । नेपाल र श्रीलंका दुबै टीमका खेलाडीले समर्थकलाई धन्यवाद दिएका छन् । रंगशालामा नेपाली समर्थकको बाक्लो उपस्थिति रहेको थियो ।आईसीसीको नियम अनुसार सेमिफाइनल र फाइनलको मात्रै रिजर्भ डे राखिएको छ । त्यसैले आज खेल हुन नसक्ने अवस्थापछि दुबै टोलीले १–१ अंक बाँडेका हुन् । जारी विश्वकपमा समूह बी मा इंग्ल्यान्ड र स्कटल्यान्डबीचको खेल मात्रै रद्ध भएको छ । अन्य २२ मध्ये २१ खेलको नतिजा आएको थियो ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । उता श्रीलंका पहिलो खेलमा दक्षिण अफ्रिकासँग ६ विकेट र बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

नेपालले अव सेन्ट भिसेन्टमा दक्षिण अफ्रिकासँग शनिबार र सोमबार बंगलादेशसँग खेल्ने छ । समूह डी बाट शीर्ष दुईमा रहँदै सुपर–८ मा पुग्न बाँकी दुबै खेल जित्नुपर्ने हुन्छ । समूह डी मा दक्षिण अफ्रिका सुरुवाती ३ खेलमा ६ अंकका साथ सुपर ८ मा पुगिसकेको छ ।

बंगलादेश र नेदरल्यान्ड्सको समान २ खेलमा १ मा जित र १ मा हारसहित २–२ अंक छ । नेटरनरेटका कारण बंगलादेश दोस्रो र नेदरल्यान्ड्स तेस्रो स्थानमा छन् । नेपाल २ खेलमा १ अंकका साथ चौथो स्थानमा छन् । श्रीलंका ३ खेलमा १ अंकका साथ पुछारमा छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्