झापा, जेठ ३० । पछिल्लो समय राष्ट्रिय विवाद बनेको गिरीबन्धु टि इस्टेटका संचालकहरुले चिया बगानको जग्गा सट्टापट्टाको प्रक्रिया अप्ठ्यारो देखिएपनि असंभव नभएको बताएका छन् । उनीहरुले गिरीबन्धु टि इस्टेटको जग्गा सट्टापट्टाका लागि सात वटा आधार प्रस्तुत गर्दै जग्गा प्रकरणलाई हाउगुजीजस्तो नबनाउन आग्रहसमेत गरेका छन् ।

आज बिहान बिर्तामोडमा पत्रकार सम्मेलन गरी गिरीबन्धु टि इस्टेटका संचालकहरुले सर्वोच्च अदालतले गरेको फैसलाको पूर्ण पालना गर्ने प्रतिवद्धता जनाउँदै सर्वोच्चले गरेको त्यही फैसलालाई नै टेकेर आफूहरु अर्को प्रक्रियाका लागि अगाडि बढ्ने बताए । टि इस्टेटका व्यवस्थापक निर्देशक छत्रबहादुर गिरीले गिरीबन्धु टि इस्टेट राज्यको सम्पत्ति नभएको स्पष्ट पारे । ‘गिरीबन्धु टि इस्टेट राज्यको होइन,परिवारको हो ’ उनले भने,‘ गिरीबन्धु टि इस्टेटलाई हाम्रो भनेर बुझिदिन आग्रह गर्दछु ।’ उनीहरुले निम्न अनुसारको आधारहरु प्रस्तुत गरेका छन् ।

१) गिरीबन्धु टि इस्टेटले भूमि सम्बन्धी ऐन र नियम मिचेर जग्गा सट्टापट्टाको लागि निवेदन गरेको र नेपाल सरकार, मन्त्रिपरिषद्ले समेत कानून विपरीत निर्णय गरेको होइन तर मन्त्रिपरिषदबाट निर्णय गर्दा उल्लेख भए अनुसारको प्रकृयासम्म नपुर्याएको भने फैसला÷ आदेशमा उल्लेख भएको देखिन्छ ।

२) नेपाल सरकार मन्त्रिपरिषद्ले निर्णय गर्दा पनि प्रचलित ऐन कानुन र नियमको परिधिभित्र बसेर निर्णय गरेको हुनाले यो गर्दा सर्वोच्च अदालतले गिरीबन्धुले पेश गरेको निवेदनमा आवश्यक पूर्वाधारहरु नदेखाएको भनी प्राविधिक कारणहरुले मात्र त्रुटिपूर्ण भएको भनी ठहर गरेको छ।

३) मिति २०३० सालमा मात्र पूर्व–पश्चिम राजमार्ग निर्माण सम्पन्न भएको हो। यो कम्पनी २०२० मा नै स्थापित कम्पनी हो। यो कम्पनी गिरीबन्धु परिवारको निजी जग्गामा चिया बगानको लागि प्रचलित कानून बमोजिम हदवन्दीसम्म छुट लिएको हो (यो जग्गा हाम्रो परिवारको निजी भएको प्रमाण हामीसंग सुरक्षित छ) । कम्पनी स्थापना हुँदा (६० वर्ष अगाडी) राजमार्गको अवधारणा समेत बनेको हुँदा अहिले आएर महँगो जग्गा बेचेर सस्तो जग्गा खरिद गर्ने चलखेल भयो भन्दै झुट्टा र भ्रामक समाचारहरु केही प्रिन्ट मिडिया तथा अनलाईन खवरहरुवाट प्रचार भैरहेको साथै सरकारले नै चिया खेतीको लागि गिरीबन्धुलाई सित्तैमा सरकारी जग्गा दिएको जस्तो भ्रमपूर्ण र गलत प्रचारवाजी तथा घोचपेचहरुमा तथा सामाजिक सञ्जालहरुमा सम्प्रेषण भैरहेको हुनाले यस कुराको वास्तविकता नबुझी उल्लेख भएको देखिन्छ । यस्तो गलत सभ्य र अफवाहमा नलागी दिनुहुन अनुरोध छ ।

४)२०२० सालमा कम्पनी स्थापना गरी संचालनमा आएको कारण सो ठाउँमा बस्ती विस्तार भै बिर्तामोड बजारको विकास भएको र यसरी बजारको विकास भएको कारण चिया बगान क्षेत्रमा समेत जबरजस्ती प्रवेश गर्ने चियाका बुट्टाहरु नास्ने मास्ने कार्य भएकाले चिया उत्पादनमा ह्रास आएको व्यहोरा जानकारी गराईन्छ ।

५) हाल आएर तीव्र गतिमा बिर्तामोड बजारको विकास भएको तथा बजार पूर्वतर्फ फैलिदै गएको, बगानसंगै अस्पताल, विद्यालय र तीव्र बजारीकरणको कारण चिया बगान क्षेत्रमा फोहोर मैला फाल्ने काम भएको, चियाका बुट्टाहरु काटी दाउराको रुपमा लैजाने गरेको, आत्महत्याको प्रकरण हुने गरेको, मृत जनावरहरु फाल्ने ठाउँ बनेको, किट्नाशक औषधी छर्नु परेको कारण स्थानीय मानिसहरुको स्वास्थ्यमा असर परेको र अन्ततः गाई बस्तु चराउने ठाउँ बन्न पुगेको अवस्थामा परिणत भएका कारण र एउटै स्थानमा लामो समयदेखि चिया बगान रही माटोको उर्वराशक्तिमा ह्रास आएकाले चिया उत्पादनमा सत्तरी प्रतिशतसम्म ह्रास आएको अवस्था भएकाले चिया मजदुरको रोजीरोटीमा समेत समस्या थपिदै गएको अवस्था छ ।

६) उल्लेखित अबस्था र परिस्थितिका कारण यस क्षेत्रबाट चिया बगान हटाउन निरन्तर जनदबाब आएको र स्थानीय जनतासंग राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु समेतको रोहबरमा छलफल हुँदा चिया बगान कायम राख्न तीव्र विरोध आएको कारण उक्त क्षेत्रबाट चिया बगान हटाउनु नै उपयुक्त हुने टुंगोमा पुगेर नै उपयुक्त ठाउँमा चिया बगानको
व्यवस्था गर्ने गरी जग्गा सट्टापट्टाको लागि निवेदन गरिएको हो ।

७) सम्मानित अदालतबाट समेत चिया बगानको लागि सट्टाभर्नाको जग्गाको सुनिश्चितता, मजदुरको रोजीरोटीको समस्याबाट बञ्चित नगर्ने, सट्टा–भर्ना लिने जग्गाको मूल्यको आधार र चिया उत्पादनको लागि हदबन्दी छुट लिएकाले सोही प्रयोजनमा प्रयोग गर्नुपर्छ भनिएकाले आवश्यक प्रकृया पुरा गरेर यो सबै विषयको सुनिश्चतता गरेर नै उपयुक्त निर्णयमा यस गिरीबन्धु टि इस्टेट पुग्ने कुराको जानकारी गराउँदछौं ।

शहरभित्र चिया बगान रहन नहुने भन्दै टि इस्टेटका व्यवस्थापक निर्देशक छत्रबहादुर गिरीले यहाँ चिया नहुने भएकाले अन्यत्र सार्न खोजेको बताउँदै सार्न नदिने हो भने राज्यले क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने दावी पेश गरे । उनले राज्यसंग क्षतिपूर्ति माग गर्न प्रक्रिया छिट्टै अगाडि बढाइने जानकारी दिए । पत्रकार सम्मेलनमा संचालकहरु भरतलाल गिरी , प्रशान्त गिरी , नवीन गिरी , समिर गिरी र श्याम गिरीको पनि उपस्थिति रहेको थियो । कार्यक्रमको संचालन चन्द्रकान्त ढकालले गरेका थिए ।

गिरीबन्धु टि इस्टेट प्रा.लि. नेपालमा भूमिसुधारको व्यवस्था लागू हुनुअगावै मिति २०२०साउन २६ मा स्थापित देशकै ज्येष्ठ उद्योगहरु मध्येको एक हो। यो उद्योग स्थापित हुँदा गिरीबन्धु परिवारको नाममा रहेको निजी जग्गामा स्थापना भएको हो । देशमा २०२१ सालमा भूमिसुधार लागू भई सोपश्चात् मात्र जग्गामा हदबन्दी लागू भएको हो । आफ्नो निजी जग्गा भएर पनि भूमिसम्बन्धी ऐनको पालना गर्दै गिरीबन्धु टि इस्टेटले २०२९ सालमा आएर चिया बगानको लागि हदबन्दी छुट लिएको हो। चिया बगान रहेको क्षेत्रमा भैरहेको बस्ती विकास र बजारीकरण समेतको कारणले चिया बगान सञ्चालनमा कठिनाई भइरहेको अवस्थामा संसदबाट पारित नै लागु रहेको भूमिसम्बन्धी ऐनको आठौं संशोधनलाई आधार बनाई यस गिरीबन्धु टि इस्टेटले नेपाल सरकारलाई जग्गा सट्टापट्टाको लागि निवेदन गरेकोमा यस गिरीवन्धु टि इस्टेटलाई २०७८ बैशाख १३ मा नेपाल सरकारको मन्त्रिपरिषद्बाट निर्णय भई आवश्यक मापदण्ड पुरा गरी जग्गा सट्टापट्टा गर्ने इजाजत दिएको थियो ।
सरकारको सो निर्णयलाई लिएर विभिन्न मितिमा विभिन्न व्यक्तिहरुले यस गिरीबन्धु टि इस्टेटसमेतलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएकोमा अदालतको संवैधानिक बेन्चबाट २०८० माघ २४ गते सट्टापट्टाको विपक्षमा फैसला आएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्