झापा, जेठ ३२ । गएराति गएको पहिरोमा परी ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिम टिन्जामा एकै घरका ४ जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डीएसपी रवि रावलका अनुसार फक्ताङलुङ गाउँपालिकाका उपाध्यक्ष रवीन साम्राका बुबा, कान्छीआमा र उनीहरूका दुई सन्तानको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ७० वर्षीय रामबहादुर साम्रा, उनकी ४८ वर्षीया श्रीमती जसमाया लिम्बू रहेका छन् । त्यस्तै उनीहरूका १० वर्षका जुम्ल्याहा छोरीहरू गंगा र जमुनाको पनि पहिरोमा परी मृत्यु भएको छ ।

राति सुतिरहेका बेला माथिबाट खसेको पहिरोमा उनीहरू पुरिएका हुन् । सिंवा प्रहरी चौकी र मित्लुङ हाइड्रोपावरमा रहेको खटिएको नेपाली सेनाको टोलीसहित स्थानीयले पहिरोबाट शव निकालेको डीएसपी रावलले जानकारी दिए ।
त्यस्तै खेजेनिम मावि छेउमा गएको अर्को पहिरोमा परी ४० वर्षीय युगेन साम्रा र उनका तीन वर्षीया छोरी घाइते भएको नेपाल रेडक्रस सोसाइटी ताप्लेजुङले जनाएको छ । रेडक्रस सभापति इन्द्र गुरुङका अनुसार पहिरोले युगेनको घरमा क्षति पुर्याएको छ ।
जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक कमल लुंगेलीको नेतृत्वमा थप टोली परिचालन गरिएको डीएसपी रावलले जानकारी दिए । अहिले सदरमुकाम फुङलिङसहित जिल्लाका धेरै ठाउँमा वर्षा भइरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्