झापा,असार १ । कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहयोग तथा क्षितिज नाट्य प्रतिष्ठान झापाको आयोजनामा संञ्चालित नाट्य कलासम्बन्धी सात दिवसीय कार्यशाला शुक्रबार सम्पन्न भएको छ ।

क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय सल्लाहकार तथा जग्गादाता युवराज चुडालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा बिर्तामोड नगरभित्रका सबै वडा अध्यक्षहरुको उपस्थिति रहेको थियो । क्षितिज नाट्य प्रतिष्ठानअन्तर्गत नाट्य विभागका ताप्लेजुङ ,पाँचथर,इलाम र झापा जिल्लाका २१ जना प्रशिक्षार्थीहरुबिच कार्यशाला सञ्चालन गरिएको नाट्य प्रतिष्ठानकी केन्द्रीय उपाध्यक्ष सुजना खतिवडाले जानकारी दिइन् ।

प्रतिष्ठानले आगामी आर्थिक बर्ष २०८१–८२ मा सार्क राष्ट्रस्तरीय बहुभाषिक नाट्य महोत्सव गर्ने भएको हुँदा सो महोत्सवलाई मध्यनजर गरी कलाकारहरुको स्तर उन्नतिका लागि कार्यशाला आयोजना गरिएको प्रतिष्ठानका कार्यकारी अधिकृत राजकुमार भट्टराईले जानकारी दिएका छन् । नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष तथा झापा नाटक घर निर्माण कार्यका परिकल्पनाकार अभियन्ता माधब कल्पितको निर्माण परिकल्पना र गजेन्द्र पृृथकको लेखन निर्देशनमा आधारित नाटक परिबन्धको समेत पूर्वतयारी भइरहेको प्रतिष्ठानका पाँचथर शाखा अध्यक्ष नरेन्द्र खतिवडाले जानकारी दिए ।

आगामी आर्थिक बर्ष क्षितिजको भौतिक निर्माणका साथै सार्क केन्द्रीकृत नाट्य महोत्सवको बर्ष रहने र सो नाट्य महोत्सवमा सात प्रदेशबाट १४ वटा ,सार्क राष्ट्रबाट १४ वटा र आयोजकको तर्फबाट १ गरी २९ वटा नाटक एक महिनाभर मञ्चन गर्नेगरी महोत्सवको आयोजना गर्न लागिएको नाट्य बिभागका अध्यक्ष गजेन्द्र पृथकले बताए ।

करिव ६० लाखको लगानीमा सम्पन्न गर्ने गरी आयोजना गर्न लागिएको महोत्सवलाई मध्यनजर गरेर बजेट बिनियोजन गरिदिन प्रतिष्ठानले संघ, प्रदेश र बिशेषतः बिर्तामोड नगरपालिका र बिर्तामोडका सबै वडा कार्यालयहरुलाई आग्रह गरेको अध्यक्ष कल्पितले जानकारी दिएका छन् ।सरकारी विद्यालयका न्यून आय स्रोत भएका विद्यार्थीहरु जसको नाटक घरसम्म पुगेर नाटक हेर्न सक्ने पहुँच र स्रोत छैन, उनीहरुलाई महोत्सवमा बढीभन्दा बढी सहभागी गराउने लक्ष्य रहेको साहित्य बिभाग उपाध्यक्ष दुर्गाप्रसाद सिग्देलले बताए । उनले सरकारी विद्यालयका करिव २ हजार विद्यार्थीलाई प्रत्यक्ष राहत पुग्ने गरी भाषा,कला साहित्य संरक्षण तथा प्रबर्द्धनात्मक शिर्षक अन्तर्गत बजेट बिनियोजन गरि कला साहित्यलाई जीवन उपयोगी पाठको रुपमा विकास गरिदिनु अनुरोध गर्दै कार्यशालामा सबै जनप्रतिनिधिहरुलाई निमन्त्रणा गरिएको जानकारी दिए ।

निर्माण अनुगमन समिति अध्यक्ष भोजकुमार मास्केको अध्यक्षतामा आयोजित कार्यक्रममा कलाकारहरुले नाटक, गीत संगीत र नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा साहित्य बिभाग सचिव ताराप्रकाश भट्टराईले स्वागत र केन्द्रीय अध्यक्ष माधब कल्पितले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्