झापा,असार २ । पाँच वर्षको लागि जनताको अमूल्य मत लिएर निर्वाचित भएका बिर्तामोड नगरपालिकाका तीनजना जनप्रतिनिधि वैदेशिक रोजगारीमा गएका छन् ।

बिर्तामोड १० का वडा सदस्य पंचधन राई , बिर्तामोड ६ की दलित महिला सदस्य शोभा विक र बिर्तामोड ९ का वडा सदस्य चन्द्र दंगाल जिम्मेवारी छोडेर वैदेशिक रोजगारीमा गएका हुन् ।बिर्तामोड वडा नं १० को वडा सदस्य बनेका राई एक वर्षमै राजीनामा दिएर कोरिया पुगेका छन् । उनले गत वर्षको जेठ १ गते पदबाट राजीनामा दिएका थिए । त्यस्तै करिव दुई महिनाअघि बिर्तामोड ६ की दलित महिला सदस्य शोभा विक खाडी राष्ट्र गएकी छन् ।

उनले राजीनामा दिएकी छैनन् । उनको सेवा सुविधा रोकिएको बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले बताए ।‘ विदेश जानुभन्दा अगाडि जानकारी गराउनु भएको थियो, तर राजीनामा दिनुभएको छैन’ वडाध्यक्ष कन्दङ्वाले भने,‘ सेवा सुविधा रोक्काका लागि नगरपालिका कार्यालयलाई जानकारी गराइसकेका छौं ।’ त्यस्तै पछिल्लो पटक बिर्तामोड ९ का वडा सदस्य चन्द्र दंगाल पनि वैदेशिक रोजगारीका लागि रोमानिया गएका छन् । करिव एक महिनाअघि गएका उनले पनि राजीनामा नदिएको नगरपालिका कार्यालयले जनाएको छ ।

बिर्तामोड नगरपालिकामा ५२ जना निर्वाचित र ३ जना मनोनित गरी ५५ जना जनप्रतिनिधि रहेका थिए । तीनजना विदेश कमाउन गएपछि अहिले ५२ जनामा सीमित भएका छन् । वैदेशिक रोजगारीमा गएका जनप्रतिनिधिहरुको सेवा सुविधा रोकिएको नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले बताए ।

जनप्रतिनिधिहरु रिक्त रहेको विषयमा जिल्ला निर्वाचन कार्यालयलाई कुनै जानकारी नभएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले बताए । कनकाई नगरपालिका वडा नं ६ का वडा अध्यक्ष दीर्घबहादुर थापाको निधन भएको थाहा भएपनि अरु पालिकाका कति जनप्रतिनिधि कार्यरत भए नभएको विषयमा सम्बन्धित पालिकाहरुले जानकारी नगराएको उनले बताए । एक वर्षमै रिक्त भएपनि वडा सदस्य पदको लागि उपनिर्वाचन गराउने व्यवस्था नरहेको नेपालको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्