झापा, असार ४ । वैदेशिक रोजगारीमा दक्ष भएर जाने नेपाली श्रमिकको संख्या पछिल्लो पटक बढेको छ । विसं २०८० जेठको तुलनामा २०८१ को जेठमा दक्ष भएर वैदेशिक रोजगारीमा जानेको संख्या बढेको हो । वैदेशिक रोजगार विभागका अनुसार गत जेठमा दक्ष भएर जानेको संख्या ६४ प्रतिशत रहेकोमा गएको जेठमा ७१ प्रतिशत पुगेको छ । गएको जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएर गएकोमा ५१ हजार ६२० जना दक्ष भएर वैदेशिक रोजगारीमा गएका छन् । गत २०८० जेठमा ५९ हजार ४९९ जनाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकोमा ३७ हजार ८९८ जना दक्ष भएर गएको विभागले जनाएको छ ।

विभागका अनुसार गएको जेठमा श्रम स्वीकृति लिएर विदेश गएकोमा उच्च दक्ष र व्यवसायी भिसामा श्रम स्वीकृति लिएर विदेश जाने ५८४ जना (०.८० प्रतिशत) अर्धदक्ष भएर जाने सात हजार २६ जना (आठ प्रतिशत) र अदक्ष १४ हजार ६३१ जना (२० प्रतिशत) रहेका छन् । गत वर्षको जेठमा श्रम स्वीकृति लिएर गएका ५९ हजार ४९९ गएकोमा उच्च दक्ष र व्यावसायिक १६४ जना (०.२७ प्रतिशत), अर्धदक्ष चार हजार ९७१ (१० प्रतिशत) अदक्ष १२ हजार ४९७ (२७ प्रतिशत) रहेको थियो ।

चालु आव २०८०÷८१ को ११ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने नेपाली युवाको संख्या छ लाख नाघेको छ । वैदेशिक रोजगार विभागका अनुसार चालु आवको साउनदेखि जेठसम्म रोजगारीका लागि छ लाख ८४ हजार ८६१ जनाले लिएका छन् । चालु आवको ११ महिनामध्ये सबैभन्दा धेरै जेठ महिनामा ७२ हजार ८६१ जनाले श्रम स्वीकृति लिएका छन् भने सबैभन्दा कम कात्तिक महिनामा ४३ हजार ६२२ जनाले श्रम स्वीकृति लिएर विदेश गएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्