बिर्तामोड, असार ४ । नेपाल विद्युत प्राधिकरणको अनारमनी वितरण केन्द्रअन्तर्गत गरामनी फिडरमा नियमित रुपमा बिजुली नआएको हप्तौ भइसक्यो । जसबाट सयौं उपभोक्ता प्रभावित भएका छन् ।

पानी पर्नेबित्तिकै बत्ती जाने समस्याले गरामनी फिडरका उपभोक्ता दिक्क भइसकेका छन् । हप्तौदेखि राति बती जाने र बिहान ९–१० बजे आउने गरेको बिर्तामोड ९ का बमबहादुर चौधरीले बताए । त्यसपछि पनि बती नियमित रुपमा नआउने गरेको उनले बताए । २४ घण्टामा कहिल्यै राम्ररी बती बाल्न नपाएको बिर्तामोड ९ कै सकुन राजवंशीले समस्या सुनाइन् । ‘पानी पर्नै हुँदैन बती गइहाल्छ’ उनले भनिन् ,‘ यही पाराले हो भने वर्षाभरि राम्ररी बती बाल्न नपाइने भइयो ।’ गरामनी फिडरका उपभोक्ताहरु प्राधिकरणमा फोन गर्दा गर्दा हैरान भइसकेका छन् । ‘कति फोन गर्नु जहिल्यै फल्ट भयो भन्छन् ’ बिर्तामोड ९ का चौधरीले भने,‘नबिग्रिने गरी मर्मत गर्न किन सक्दैनन् ?’ अनारमनी वितरण केन्द्रको अरु फिडरमा त्यति समस्या छैन । गरामनी फिडरमा धेरै समस्या देखिएको हो ।

प्राविधिकहरु पनि हैरान

गरामनी फिडर बिग्रिरहँदा प्राविधिकहरु पनि हैरान भइसकेका छन् । अहिले बनायो एकैछिनमा फेरि बती नअडिने समस्याले उनीहरु हैरान भएका हुन् । गरामनी फिडरको ठूलो क्षेत्र भएकाले कहाँ बिग्रियो भनेर खोज्दा खोज्दा आफूहरु हैरान हुने गरेको उनीहरु बताउँछन् । ‘ गरामनी फिडरबाट कम्प्लेन निकै आउँछ ’ कम्प्लेन टिप्न बसेका प्राधिकरणका एक कर्मचारीले भने,‘प्राविधिकहरु मर्मतमा खटिँदा खटिँदा हैरान भइसकेका छन् ।’ यसरी बाक्लै बती जान थालेपछि उपभोक्ताहरु आफूहरुमाथि आक्रोशित भएको उनले सुनाए ।

गरामनी फिडरलाई टुक्र्याइने

अनारमनी वितरण केन्द्रको गरामनी फिडर सबैभन्दा धेरै क्षेत्रमा फैलिएको छ । सैनिकमोडदेखि पूर्व बिर्तामोड ३ को केही क्षेत्र , साविक गरामनी गाविसको सम्पूर्ण क्षेत्र , बिर्तामोड २ को केही क्षेत्र गरामनी फिडरअन्तर्गत रहेको छ ।एक ठाउँमा समस्या आए सम्पूर्ण फिडरमा नै बती जाने गरेको छ । ठूलो क्षेत्र भएकाले बारम्बार समस्या आउने गरेको अनारमनी वितरण केन्द्रका प्रमुख संजीवकुमार शाहले बताए । उनले गरामनी फिडरलाई तीन टुक्रा पार्न लागिएको जानकारी दिए । ‘ गरामनी फिडरमा समस्या आएकोले त्यसलाई तीन टुक्रामा टुक्र्याउन लागेका छौं’ उनले भने,‘ बजार क्षेत्र र कृषि क्षेत्र हेरेर त्यसलाई टुक्र्याइने भएको हो ।’

विगत केही दिनदेखि गरामनी फिडरले अति नै दुःख दिएको अनारमनी वितरण केन्द्रले सूचना जारी गरी जनाएको छ । दिनभरि लाइन प्याट्रोलिङ गर्दा चट्याङले पड्किएका पिन , डिस्क फेला परेको बताउँदै पिन, डिस्क पड्किएको छ कि छैन भनेर पत्ता लगाउन पोल टु पोल चढेर हेर्ने कार्य भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्