झिलझिले, असार ५ । आफैंले मत दिएर जिताएर पठाएका नगरका जनप्रतिनिधिहरु जवाफदेहिताको लागि कार्यक्रममा उपस्थित नहुँदा मंगलवार शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का स्थानीय आक्रोशित बनेका छन् । कतिपयले उनीहरूलाई गैरजिम्मेवार जनप्रतिनिधिसम्म भन्न भ्याए।

दुई दिनअघि नै वडा कार्यालयले जनताका गुनासा वा सुझावको सुनुवाई गर्न नगर प्रमुख मेगाहाङ थोप्रा, उपप्रमुख नरमाया कार्कीलाई पत्र दिएर निमन्त्रणा गर्यो । पत्रसँगै वडा अध्यक्ष सन्तकुमार फेउदिनले टेलिफोन सम्पर्क गरी कार्यक्रममा उपस्थितिका लागि अनुरोधसमेत गरे। तर, नगर प्रमुख मेगाहाङ थोप्रा र उपप्रमुख नरमाया कार्की कार्यक्रममा उपस्थित भएनन् ।

नगर प्रमुख र उपप्रमुख मात्र होइन, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राईसमेत कार्यक्रममा उपस्थित भएनन् । उनीहरुसंगै नगर कार्यपालिकाका शाखा प्रमुख कोही पनि कार्यक्रममा उपस्थित भएनन् । कार्यक्रममा सहभागी सेवाग्राहीले भने ‘उपप्रमुखको मुखबाटै प्रश्नको जवाफ सुन्न आएको थिएँ। खै, उहाँ त आउनु भएनछ। मेरो प्रश्नको जवाफ अब कसले दिन्छ ?’

‘पूर्वपश्चिम राजमार्गबाट सेभेनसिज अंग्रेजी माध्यमिक विद्यालय झर्ने सडकको नाला निर्माण भएको छ। यो गर्वको विषय हो। तर यसको निकास कहाँबाट हुन्छ, उपमेयर ज्यू? बिनानिकासको नाला निर्माण गर्नुको उद्देश्य के हो?’ यो प्रश्न केदारमणी सापकोटाले तेर्स्याए । उनको प्रश्नको समर्थन गर्दै कार्यक्रमस्थलमा ताली बज्यो । यो आयोजना नगरपालिका र स्थानीय उपभोक्ताको साझेदारीमा निर्माण भएको हो ।

अर्का स्थानीयले घर नक्सा किर्ते प्रकरणका बारेमा आफू एक लाख ६० हजारमा ठगिँदा दोषी देखिएका कर्मचारीलाई जोगाएको आरोप लगाए । नगरपालिकाले दोषीउपर कारबाही गर्न नसक्नु नगरपालिका स्वयम् दोषी भएको उनले पुष्टि गरे ।
स्थानीय भगिरथ घिमिरेले छानविन समितिले ‘दोषी देखाएका कर्मचारीलाई किन संरक्षण गर्यो ? कारबाही गरेर भ्रष्टाचारमुक्त नगर नगरपालिकाले किन बनाउन सकेन ? लगायतका प्रश्न तेर्स्याए । तर, यसको जवाफ पनि उनले चित्तबुझ्दो पाउन सकेनन् ।उनले भने,‘शिवसताक्षी नगरपालिका भ्रष्टाचारले चुर्लुम्म डुबेको छ ।’

घर नक्सा किर्ते प्रकरण छानबिन समितिको संयोजक उपप्रमुख नरमाया कार्की थिइन्। उनी कार्यक्रममा आइनन् । उनैको मुखबाट जवाफ चाहेको बताउने घिमिरेले वडा अध्यक्ष सन्तकुमार फेउदिनबाट आंशिक जवाफ सुने । तर, उनले चित्त बुझाएनन् ।

उपप्रमुख कार्की नेतृत्वको समितिले छानविन गरेर प्रतिवेदन नगर कार्यपालिकामा बुझाएको थियो । त्यो प्रतिवेदनउपर कारबाही नभएको वडा अध्यक्ष सन्तकुमार फेउदिनले स्विकार गरे । उनले नगरपालिकालाई दोष देखाउदै भने,‘दोषी देखिएका कर्मचारीलाई नगरपालिकाले संरक्षण गरेकाले कार्वाही हुन नसकेको हो ।प्रतिवेदनका आधारमा दोषी देखिएका कर्मचारीलाई न त निलम्बन नै गर्यो न त कारबाहीको दायरामा ल्यायो ।’

अर्का स्थानीय दलकुमार शेर्माले सडकको विषयमा गम्भीर प्रश्न उठाए । उनको प्रश्न नगर प्रमुख मेगाहाङ थोप्राले दिनुपर्ने थियो। तर, उनी कार्यक्रममा सहभागी भएनन्। स्रोतका अनुसार मंगलबार भारी वर्षा भएर नदी नालामा पानीको जलसतह बढेका कारण सोको अनुगमनका क्रममा उनी निस्किएका थिए। उनले वडाध्यक्षलाई भनेका थिए ‘फुर्सद भए आउँछु।’ तर, उनी बेफुर्सदिला भए । कार्यक्रममा आउन भ्याएनन् ।

‘मेयर साहेब,डुडामारी चोकदेखि इमानसिंह चोकसम्मको कालोपत्रे सडक करिब २ करोडमा निर्माण भएको हो। अहिले यो सडक खाल्डै खाल्डाले भरिएको छ। २ करोड राज्यको सम्पत्ति खर्च भइरहँदा दुई लाख रुपैयाँ छुट्याएर खाल्डाले भरिएको सडक पुनर्निर्माण गर्न सकिन्न ?’ यो प्रश्नको जवाफ कनिकुथी वडा अध्यक्ष फेउदेनले दिए । ‘क्षतिग्रस्त सडकको तस्बिर र स्थानीय उपभोक्ताको संयुक्त हस्ताक्षरसहितको निवेदन लिएर वडा कार्यालय आउनुस् । तपाईँहरूसँगै म आफू मेयर साहेबकोमा गएर यो विषयको सम्बोधन गरौंला ’फेउदेनले भने ।

सहभागीले वडा अध्यक्षको कुरा सुनेर ताली त बजाए । तर, उपभोक्ताको यो गुनासो सम्बोधन हुने ठेगान छैन।
स्थानीय तारा मेहताको गुनासो पनि चानचुने थिएन । झिलझिले बजारको नाला, पिउने पानीको समस्या, जग्गाधनी प्रमाण पुर्जाको व्यवस्था स्थानीय सरकारले नगरेकोमा उनले आक्रोश पोखिन् ।

कार्यक्रमका अर्का सहभागी नेत्रप्रसाद कोइरालाले अन्य वडाको तुलनामा अधिक राजस्व वडा नम्बर ८ बाटै उठ्छ। तर, वडा सिलिङ बजेटमा समान हिसाबले वडालाई बजेट विनियोजन गर्नु न्यायोचित नभएको उनले गुनासो गरे । यो प्रश्नको जवाफ पनि नगर प्रमुखले दिनुपर्ने थियो। उनले प्रश्नको जवाफ पाउन सकेनन् ।

कार्यक्रममा सहभागीले शिक्षा, स्वास्थ्य, कृषि, योजना, पशु, खानेपानी, सामाजिक सुरक्षा लगायतका विषयमा जोडदार आवाज उठाएका थिए। तर विषयगत शाखा प्रमुख कार्यक्रममा उपस्थित नहुँदा सहभागीले चाहेको जस्तो जवाफ पाउन सकेनन् ।
स्थानीय रामकुमार चुडालले भने, ‘जनप्रतिनिधि उद्घाटन र शिलान्यासमा व्यस्त हुन्छन् । जनताका कुरा सुन्न भ्याउँदैनन् । आफ्ना कुरा मात्र जनतालाई सुनाउँछन् ।कर्मचारी मासु भात र भत्ताका कार्यक्रममा सहभागी हुन्छन् । जनताले पाउने सेवा सुविधा र कार्यक्रमका बारेमा जानकारी दिन उनीहरू आउँदैनन् ।’

कार्यक्रममा उपेन्द्रकुमार शर्मा, प्रेमबहादुर बराल, मातृका पाण्डे, सन्दीप पाण्डे, केदारमणि सापकोटा, दलकुमार शर्मा, खेमप्रसाद दंगाल, भगिरथ घिमिरे, नेत्रप्रसाद कोइराला, उमेश मण्डल, कमल तामाङ, हरिशंकर सिलवाललगायतले समसामयिक विषयमा गुनासो र सुझाव शिवसताक्षी नगर र वडा कार्यपालिकालाई दिएका थिए।

सहभागीले सोधेका प्रश्नमध्ये ९ वटा नगरकेन्द्रित, ५ वटा वडाकेन्द्रित र एउटा योजना संघकेन्द्रित थियो । कतिपय सहभागीले गोप्य गुनासा राखेका थिए । सहभागीले राखेको गुनासा र सरोकारवालाले दिएको जवाफको नेत्रप्रसाद कोइराला, लोककुमारी डाँगी र हरिशंकर सिलवालले टिप्पणी उठाएका थिए ।

सेवाग्राहीले सोधेको प्रश्नको जवाफ वडा अध्यक्ष फेउदिन, वडा सदस्य ज्ञानप्रसाद लुइटेल, वडा सदस्य विवेक थिङ, झिलझिले माध्यमिक विद्यालयका प्रधानाध्यापक खेम निरौला, सिर्जना खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष शिवकुमार मेनेङ्गोले दिएका थिए।

वडा नम्बर ८मा चालु आर्थिक वर्ष भएका विकास निर्माण, त्यसको प्रभावकारिता, सेवा प्रवाह, पारदर्शिता र सुशासनको विषयलाई समेटेर वृत्तचित्र पनि देखाइएको थियो। सताक्षी मिडिया प्रालिले संयोजन गरेको कार्यक्रमको सहजीकरण पत्रकार विनोद सापकोटाले गरे ।

कार्यक्रममा नागरिक अभिमतको प्रतिवेदन पनि सार्वजनिक गरिएको थियो। १०० वटा नागरिक अभिमतको प्रतिवेदन अनुसार वडा नम्बर ८ मा सञ्चालित विकास आयोजना र त्यसको प्रभावकारिताका विषयमा ७८ प्रतिशत वडाबासीले सन्तुष्ट व्यक्त गरेका छन्। यस्तै सेवा प्रवाह सम्बन्धीको नागरिक अभिमतमा ८१ प्रतिशत वडाबासी सन्तुष्ट छन् ।
कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष फेउदिनले गरेका थिए भने सहभागीलाई स्वागत दलित महिला वडा सदस्य टिकामाया विश्वकर्माले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्