झापा,असार ६ । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि झापासहित कोशी प्रदेशभरि ट्राफिक सप्ताह शुरु भएको छ ।

दुर्घटना न्यूनीकरण तथा सचेतना जगाउने उद्देश्यले पूर्वका १४ जिल्लामा एकसाथ ट्राफिक सप्ताह शुरु भएको हो
कोशी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको संयुक्त आयोजनामा शुरु भएको ट्राफिक सप्ताहमा ट्राफिक नियम र सडक अनुशासन पालना गराउन सचेतना कार्यक्रमहरु संचालन गर्नुका साथै अनुगमन र कारवाही गरिने बताइएको छ ।

ट्राफिक सप्ताह कार्यक्रमको बिहीवार विराटनगरमा उद्घाटन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सडक दुर्घटनालाई ५० प्रतिशत घटाउने गरी काम गर्नुपर्ने बताए। उनले सडक दुर्घटना र त्यसबाट घाइते हुनेको अवस्था भयावह भएकाले यसको न्यूनीकरण गर्न व्यक्ति आफै सचेत हुनुपर्ने धारणा राखे।

कार्यक्रममा प्रदेश सरकारले उपलब्ध गराएको ट्राफिक सामग्री मुख्यमन्त्री कार्कीले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी उपरीक्षक सरोज पौडेललाई हस्तान्तरण गरे भने ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने ७ जनालाई सम्मानसमेत गरिएको थियो ।


यता झापामा पनि दुई पांग्रे सवारी बढी मात्रामा दुर्घटनामा पर्ने गरेकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बालबालिकालाई हेल्मेट लगाइदिएर ट्राफिक सप्ताह शुरु गरेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडबाट विभिन्न संघ संस्थासहित शुरु भएको र्यालीले बिर्तामोड नगर क्षेत्रको परिक्रमा गरेको थियो । सचेतनामूलक प्लेकार्डसहित शुरु भएको र्यालीमा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, बिर्तामोड खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष मेघराज बास्तोला, इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रकाश विष्टलगायतका व्यक्तिहरु र्यालीमा सहभागी थिए ।

त्यस्तै सशस्त्र प्रहरी बल २ नम्बर गणका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राई, अरिदमन गण चारआलीका गणपति प्रमुख प्राजु बस्न्यात, राष्ट्रिय अनुसन्धान विभाग झापाका प्रमुख कुलचन्द्र नेपाल , नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीलगायतको कार्यक्रममा सहभागिता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी बास्तोला र जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक केसीले दिश्रेया चौधरी र सदिपन गौतमलाई हेल्मेट लगाइदिएर कार्यक्रम उद्घाटन गरेका थिए । नेपालमा मानिसहरूले अधिक सडक यातायात प्रयोग गर्ने र दुर्घटना समेत बढी हुने गरेकाले जनचेतनामार्फत दुर्घटना न्यूनीकरण गर्न सकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी निरीक्षक नवराज न्यौपानेले बताए ।

सप्ताहव्यापी रूपमा मनाइने कार्यक्रममा ‘सातै दिन सातै काम’ नाराका साथ ट्राफिकसँग सम्बन्धित अलगअलग कार्यक्रम गरिने प्रहरी निरीक्षक न्यौपानेले जानकारी दिए। एक हप्ताको अवधिमा ट्राफिक सचेतना जगाउने विभिन्न कार्यक्रमहरू गरिने उनले जानकारी दिए ।

यसैबीच जिल्ला ट्राफिक प्रहरी कार्यालय झापालाई सहयोग गरेको भन्दै पुष्प भण्डारीलाई सम्मान गरिएको थियो ।केयर फष्ट फार्मेसी एण्ड केयर फस्ट डाइग्नोष्टिक सेन्टरका सञ्चालक भण्डारीलाई प्रमुख जिल्ला अधिकारी बास्तोलाले सम्मान गरेका हुन् । उनले जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी अस्वस्थ भएमा निःशुल्क उपचार गर्दै आएका छन् । योसंगै उनले सवारी दुर्घटना न्यूनीकरणका लागि गरिने विभिन्न कार्यक्रममा सहयोग पुर्याउँदै आएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्