झापा, असार ७ । झापामा रहेका विभिन्न संघ संस्थाले विपद् ब्यवस्थापनका लागि एकजुट हुने प्रतिबद्धता जनाएका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघले आयोजना गरेको विपद् ब्यवस्थापनका लागि संघ संस्थाको भूमिका विषयक कार्यक्रममा सहभागी संस्थाका प्रमुख तथा प्रतिनिधिले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

नेपाल रेडक्रस सोसाइटी झापा शाखाका अध्यक्ष लोकराज ढकालले विपद् व्यवस्थापनमा सबैको भूमिका सकारात्मक हुनु पर्ने बताए । विपद्को समयमा राहत र उद्धारमा सरकारी संयन्त्रको मात्रै भर पर्नु नहुने बताउँदै सबैले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु पर्ने बताए । यो वर्ष पानी अत्यधिक पर्ने पूर्वानुमान गरिएकोले राहत, उद्धार तथा पूर्वतयारीमा एकजुट हुनुपर्ने ढकालको भनाई छ ।

सहारा नेपाल साकोसका प्रमुख कार्यकारी निर्देशक तथा सामाजिक अभियन्ता महेन्द्रकुमार गिरीले विपद्को समयमा सबै मिलेर अघि बढ्नु पर्ने सुझाव दिए । उनले विपद्को पूर्वतयारी लागि राहत कोष स्थापना गर्न सुझाव दिएका छन् । जसका लागि कोभिडको समयमा संकलन भएको रकममध्ये केही रकम मौज्दात रहेको र सोही रकमलाई बढाएर पाँच करोड रुपैयाँको विपद् व्यवस्थापनका लागि अक्षयकोष स्थापना गर्न सुझाव दिए । ‘सबै झापाली मिलेर एकसय रुपैयाँ ‘क्यूआर’ मार्फत जम्मा गर्ने हो भने पाँच करोड रुपैयाँको विपद् व्यवस्थापन गर्न अक्षयकोष स्थापना गर्न सकिन्छ’उनले भने,‘ जुन कोषबाट प्राप्त आम्दानीले आईपर्ने विपद्मा राहत र उद्धारमा सहयोग पुग्छ ।’

‘एकका लागि एक अभियानमार्फत जम्मा भएको रकममध्ये ८० लाख रुपैयाँ रहेको र त्यसको ब्याजसहित झण्डै एक करोड रुपैयाँ खातामा मौज्दात छ’ अध्यक्ष गिरीले भने,‘अब हामीले पाँच करोड रुपैयाँको कोष स्थापना गर्न चार करोड रुपैयाँ मात्र जम्मा गर्नु पर्छ ।’

मेची आँखा अस्पतालका अध्यक्ष तथा नेपाली कांग्रेस झापाका कोषाध्यक्ष जलकुमार गुरुङले विपद्बारे अध्ययन र योजना बनाउन नसक्दा बाढीजन्य विपद्का कारण बर्षेनि झापाबासीले समस्या ब्यहोर्दै आएको र त्यसलाई न्यूनीकरण गर्नका लागि योजना बनाएर अघि बढ्नु पर्ने बताए । आपत पर्दा हारगुहार माग्नुअघि पूर्वतयारी र सचेतना जरुरी रहेको गुरुङको भनाई छ ।
नेपाली कांग्रेस झापाले समेत गाउँ स्तरसम्म विपद् व्यवस्थापनमा जुट्न संयन्त्र बनाएको र व्यवसायीले समेत यो खाले तदारुकता देखाएको भन्दै धन्यवाद ज्ञापन गरे । उनले विपद् ब्यवस्थापनमा आफू सहयोग गर्न तत्पर रहेको समेत बताए ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले विपद् ब्यवस्थापनका लागि सुरक्षा निकाय तयारी अवस्थामा रहेको र विपद् व्यवस्थापनका लागि छुट्टै गुल्म समेत रहेको बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले विपद् व्यवस्थापनका लागि पूर्वतयारीको काम भइरहेको र सबै क्षेत्रबाट सहयोगको खाँचो रहेको बताए । उनले झापामा हुनसक्ने विपद् जोखिमको अध्ययनको काम भइरहेको र जनस्तरमा पुगेर राहत र उद्धारका कामलाई प्रभावकारी बनाउन सचेतना अभियानसमेत जारी राखेको बताए ।

कार्यक्रममा चेम्वर अफ कमर्सका अध्यक्ष ओमकृष्ण विमली, वीरता लेडी जेसीजकी अध्यक्ष मिनु ओलीलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रममा जिल्लाका तीन दर्जनबढी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।बिर्तामोड उद्योग वाणिज्य संघका उपाध्यक्ष विशाल थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव कुशल खतिवडाले गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्