बिर्तामोड,असार ७ । नेपाली कांग्रेस झापाले स्थानीय तहमा योजना छनौट गरी बजेट पुस्तिकामा समावेश गराउने कार्यमा क्रियाशील रहन नेपाली कांग्रेस पालिकास्तरीय समन्वय एवं सहजीकरण समिति र पार्टी संगठनलाई निर्देशन दिएको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति झापाका सभापति देउकुमार थेवेको सभापतित्वमा शुक्रवार सम्पन्न बैठकले स्थानीय तहको नीति निर्माण एवं बजेट तर्जुमा कार्य भइरहेको हुँदा वडा एवं नगरस्तरका योजनाहरु बजेटमा समावेश गराउने कार्यमा क्रियाशील हुन निर्देशन दिएको पार्टीका उपसभापति शेरबहादुर भट्टराईले जानकारी दिए ।
स्थानीय तहमा असार १० भित्र नीति तथा योजना पेश गर्नुपर्ने र असार २५ भित्रमा बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक ब्यवस्था छ । पालिकाहरुमा नीति तथा बार्षिक कार्ययोजना र बजेटका लागि योजनाहरु छनौट भइरहेका बेला नेपाली कांग्रेस झापाले यस्तो निर्देशन दिएको हो ।

बैठकले विपद्मा परेका जनताको उद्धार, राहत एवं पुनस्र्थापनामा खटिन सबै तहका नेता कार्यकर्ता एवं भ्रातृ संस्थाहरुलाई आह्वान गरेको छ । बर्षादका समयमा झापा भएर बग्ने नदी एवं खोलाहरुबाट डुवान र कटानका कारण नागरिकहरुले भौतिक एवं मानवीय क्षति तथा विस्थापनसम्मका घटना बेहोर्नुपरेकोप्रति सचेत रहँदै उद्दार, राहत र पुनस्र्थापनामा यथासक्य सहयोग गर्न सबै तहका नेता–कार्यकर्तालाई आह्वान गरेको नेपाली कांग्रेस झापाका उपसभापति केशवराज पाण्डेले जानकारी दिए ।

बैठकले आगामी भदौ १५ गतेभित्र पार्टीको क्रियाशील सदस्यता नवीकरण सम्पन्न गरी जिल्लामा सिफारिस गरिसक्न मातहत तहमा सर्कुलर गर्ने निर्णय गरेको छ । जसअन्तर्गत वडा तहमा आगामी साउन २० गतेसम्ममा क्रियाशील सदस्यता नवीकरण सम्पन्न गर्न आह्वान गरेको बैठकले साउन मसान्तसम्ममा नगरबाट प्रदेशसभा क्षेत्रमा, भदौ सातासम्ममा प्रदेशसभा क्षेत्रबाट क्षेत्रीय समितिमा र भदौ १५ भित्र क्षेत्रीय समितिबाट जिल्ला समितिमा क्रियाशील सदस्यता नवीकरण गरी सिफारिस गरिसक्न आह्वान गरेको जिल्ला सचिव कृष्ण हुमागाईले जानकारी दिए ।

बैठकमा समसामयिक राजनीतिक विषयमा जिल्ला सदस्य राम कट्टेल, विष्णु सुब्बा, इन्द्र कार्की, दुर्गाप्रसाद सापकोटा, डम्बर बन, नारायणप्रसाद पौडेल, राजेन्द्र रिजाल, रमेश पोखरेल, मखना महतो, ओमकृष्ण विमली, देवीभक्त निरौला, पर्शुराम रिजाल, पुण्यप्रसाद सिग्देल, धनबहादुर राई, पर्शुराम ढुङ्गाना, लेखराज सुवेदी, लीला ढकाल, लीला मैनाली, धर्म लक्सम्बा, इन्द्र बुढाथोकी, खगेन्द्र मैनालीलगायतले आ–आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्