झापा, असार ८ । वर्षा लागेसँगै सप्तकोशी नदीबाट दाउरा निकाल्ने काम सुरु भएको छ । पहाडी क्षेत्रमा वर्षा भएपछि सप्तकोशी कोरिडोर क्षेत्रका स्थानीय जोखिम मोल्दै बाढीसँगै बगेर आउने दाउरा निकाल्न व्यस्त छन् ।

असारको पहिलो हप्तादेखि नै वर्षा सुरु भएपछि पूर्वी पहाडी बस्तीबाट आएको बाढीले दाउरा बगाएर ल्याउन सुरु गरेसँगै सप्तकोशी कोरिडोर क्षेत्रका बासिन्दाले नदीबाट दाउरा निकाल्न थालेका हुन् । कोशी कोरिडोर आसपास क्षेत्रमा ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएका उनीहरू कोशीबाट दाउरा निकालेर पनि आम्दानी गर्छन् । सप्तकोशी नदीको चतरा, सिसौली घाट, महेन्द्रनगर, शुक्रबारे, राजावास, धरहरा, टपनलगायतका कोशी तटबन्ध क्षेत्रका बासिन्दा बाँसको टाँगोको सहायताले नदीबाट दाउरा निकाल्छन् ।

पूर्वी पहाडी क्षेत्रबाट बाढी पहिरोले बगाएर ल्याउने घरगोठलगायत वनजङ्गलका उत्तिस, खयर, साल, चिलाउने आदिका काठ दाउरा कोशीमा बगेर आउने गरेको छ । वर्षको छ महिना कोशीमा बगेर आउने काठ, दाउरा (दहत्तर, बहत्तर) निकालेर सयौँ परिवार पालिँदै आएको स्थानीय राजेशकुमार चन्द्रवंशी बताउछन् ।

वर्षाका चार महिना कोशीमा आउने बाढीले धेरैलाई सास्ती दिने गरे पनि दाउरा तानेर जीविका चलाउनेका लागि भने त्यही बाढी रोजगारी बन्ने गरेको छ । सप्तकोशीको भेलसँगै आउने दाउरा निकाल्न भने त्यति सजिलो छैन । कोशीको भङ्गालोमा ज्यानै जोखिममा राखेर दाउरा निकाल्नु पर्ने सागर प्रसाईं बताउछन् । ३० वर्षका प्रसाईं भन्छन् “कोशीमा भेल आएको बेलामात्रै दाउरा बगेर आउँछ । त्यही भेलमा हेलिएर निकाल्नु पर्छ ।”

वर्षा सुरु भएसँगै प्रसाईंसहित एक दर्जन स्थानीय बिहान सबेरै टाँगो लिएर दाउरा निकाल्न धरहरा टपनस्थित कोशी किनार पुग्ने गरेका छन् । पहाडमा बाढी आएको बेला बिहानदेखि बेलुकी घाम नअस्ताउन्जेलसम्म कोशीको डिलमा बसेर दाउरा तान्ने उनीहरूको दिनचर्या बन्ने गरेको छ ।

कोशीबाट निकालिएका काठ दाउरा घरमा प्रयोग गर्नुका साथै बेचेरै घरखर्चसमेत चलाउँदै आएका छन् । केही नहुनेका लागि कोशी बाढी आम्दानीको राम्रो स्रोत बन्दै आएको छ । वर्षाको तीन महिना दाउरा तानेर बिक्री गर्ने र गर्जाे टार्ने सानोतिनो रोजगारी नै बनेको छ । यसरी तानिएको दाउरा एक ट्याक्टरको १५ देखि २५ हजारसम्म बिक्री गर्ने गरेको स्थानीय राजेशकुमार चन्द्रवंशीले बताए । उनी भन्छन्, “अहिले गरेको दुःखले छ महिनासम्म खानलाई दुःख हुँदैन । ठुलो टुना काठ भेटियो भने त एकै दिनको मेहनतले महिनौँसम्म घर चलाउन सकिन्छ ।”

यसपालि असार पहिलो हप्तादेखि नै मनसुनी वर्षा सुरु भएकाले बेलैदेखि कोशीले दाउरा बगाएर ल्याउन थालेको हुँदा दाउरा तान्न सुरु गरेको स्थानीय श्रीदम चन्द्रवंशीले बताए । उनी भन्छन्, “उता बाढी आए यता हाम्रो रोजगार खुल्छ ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्