झापा, असार ८ । जिल्लाकै प्रमुख व्यापारिक केन्द्रको रुपमा परिचित विर्तामोड नगरपालिकाले छ वर्षका अवधिमा सडक पूर्वाधारको विभिन्न योजना सम्पन्न गरेको छ । विर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतराले सडक कालोपत्रे, ग्राभेलिङ, पेवर्स विछ्याउने, पुल, कल्भर्ट बनाउने काम जारी रहेको बताइन् ।

उनका अनुसार छ वर्षको अवधिमा ९१ किलोमिटर सडक कालोपत्रे सम्पन्न भएको छ । नगरमा दुई सय ८७ किलोमिटर कच्ची सडकमा ग्राभेलिङ गरी स्तरोन्नति गरिएको छ । “हामीले सुरुमा सडक, पुल, कल्भर्ट जस्ता भौतिक पूर्वाधारको कार्यलाई प्राथमिकतामा राखेर काम गर्यौ”, उनले भनिन्, “अबको लक्ष्य शिक्षा, स्वास्थ्य र कृषिलाई अघि बढाउने छ ।”

नगर क्षेत्रमा एक सय ८४ ठूला साना कल्भर्ट, २७ किलोमिटरमा पेवर्स तथा ब्लक विछ्याउने काम भएको छ । सो अवधिमा विपन्न समुदायका लागि पाँच सय ३७ आवास निर्माण गरिएको पालिकाका योजना अधिकृत जयप्रसाद तिम्सिनाले जानकारी दिए । उनका अनुसार पालिकाले तीन वटा झोलुङ्गे पुल, आठ वटा फलामे पुल र दुई सय ३४ किलोमिटर क्षेत्रमा तटबन्धन गरेको छ ।

खानेपानीका लागि छ हजार तीन सय ८० मिटरमा पाइपलाइन विस्तार गरेको छ । आगामी पाँच वर्षभित्रमा प्रदेश र सङ्घीय सरकारसँगको समन्वयमा डिजिटल सेवा प्रवाहका लागि प्रविधियुक्त प्रशासकीय भवन, डोमालाल रङ्गशालाको स्तरोन्नति, देवी हाटमा बहुतले पार्किङसहितको व्यावसायिक भवन निर्माणको लक्ष्य लिइएको छ । नगरपालिकाले सुविधा सम्पन्न नगर अस्पताल निर्माण गरेर सेवा दिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्