झापा, असार ८ । ताप्लेजुङका स्थानीय तहले गोलिया काठ ओसार–पसार गर्नमा रोक लगाएका छन् । ग्रामीण क्षेत्रका सडक जोगाउन स्थानीय तहहरुले गोलिया ओसार पसारमा रोक लगाएका हुन् ।

जिल्लाको आठराई त्रिबेणी गाउँपालिकाले असार ८ गते शनिबारदेखि आगामी असोज मसान्तसम्मका लागि गोलिया ओसार पसार गर्न रोक लगाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर भट्टराईले शुक्रबार सूचना जारी गर्दै गोलिया ओसार पसार गर्न रोक लगाएको उल्लेख गरेका छन् ।

ग्रामीण क्षेत्रका कच्ची सडकहरू बर्खा याममा झन् बिग्रिने हुँदा गोलिया ढुवानी तथा ओसार पसार गर्न रोक लगाएको सूचनामा उल्लेख छ । कच्ची सडक बिग्रिएपछि यात्रुबाहक लगायतका सवारी साधन सञ्चालनमा समस्या आउने र यात्रु तथा सेवाग्राहीले यातायात सुविधा नपाउने हुँदा गोलिया ओसार पसार गर्न रोक लगाउनुपरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले सूचनामा उल्लेख गरेका छन् ।

गाउँपालिकाले जारी गरेको सूचनाको उल्लङ्घन गरी अनाधिकृत रुपमा गोलिया निकासी तथा ओसार पसार गरेमा कानुनबमोजिम कारबाही हुने पनि उल्लेख गरिएको छ । जिल्लाका अन्य स्थानीय तहहरु मैवाखोला गाउँपालिका, मिक्वाखोला गाउँपालिका, फक्ताङ्लुङ गाउँपालिका लगायतले यसअघि नै सूचना प्रकाशित गरी असार १ गतेदेखि असोज मसान्त सम्मका लागि गोलिया ओसार पसारमा रोक लगाएका छन् ।

स्थानीय तहले आफ्नो क्षेत्रका सडकहरु जोगाउने र सञ्चालनमा रहेका यातायात सेवालाई कायम राख्न उल्लेख गर्दै गोलिया ओसार पसार गर्न रोक लगाएका हुन् । वर्षातको समयमा ट्रयाक्टर र धेरै भार वहन क्षमताको ट्रकमा गोलिया काठ ओसार पसार गर्दा कच्ची सडकहरु बिग्रिने गरेको छ ।

सडक बिग्रिएपछि यातायातका साधनहरु नचल्ने र सर्बसाधारण यात्रु तथा सेवाग्राहीले यातायात सुविधाबाट बञ्चित हुनुपर्ने अवस्था आउने स्थानीय तहका पदाधिकारीको बुझाइ रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्