भद्रपुर, असार ८ । विश्वेश्वरप्रसाद कोइराला प्रतिष्ठानको आयोजनामा बृहत् साहित्यिक, साँस्कृतिक र साँगीतिक कार्यक्रम चन्द्रगढीमा सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष गोविन्द लम्सालको अध्यक्षता तथा विश्वेश्वरप्रसाद कोइरालासंग लामो समय साथमा रहेका लेखक, विश्लेषक गिरिराज आचार्यको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विश्वेश्वरप्रसाद कोइरालाले नेपाली साहित्यमा दिएको योगदान र नेपाली साहित्यमा झापाली सर्जक शीर्षकमा विज्ञ सर्जक समालोचकहरूसंग सामूहिक छलफल गरिएको थियो । छलफलमा नेपाली साहित्यमा विश्वेश्वरप्रसाद कोइराला शीर्षकमा प्रा. कविराज न्यौपाने, प्राज्ञ सभा सदस्य मुनाराज शेर्मा र लेखक लेखनाथ भट्टराईले विचार मन्थन गरेर धारणा राखेका थिए भने सहजीकरण लेखक समालोचक विवश पोखरेलले गरेका थिए ।

यस्तै नेपाली साहित्यमा झापाली सर्जक शीर्षकमा प्रा.डा. गंगाप्रसाद अधिकारी, लेखक डा. रत्नमणि नेपाल र साहित्यकार पुण्यप्रसाद खरेलले तथ्यपरक धारणा राखेको कार्यक्रमको सहजीकरण सर्जक लीला अनमोलले गरेकी थिइन् ।
गायक अर्जुन खरेल तथा गायिका अनिता पौडेलले गीत संगीत प्रस्तुत गरेका थिए भने कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका १२ जना कवि कवयत्रीले आफ्ना कविता वाचन गरेर सुनाएका थिए । केही बालबालिकाले नृत्यसमेत प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्