झापा, असार ९ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारीमा रहेको वेतना सिमसार आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण मानिएको वेतनामा प्रत्यक्ष रूपमा देख्न पाइने साइबेरियाबाट आउने पर्यटक चराका साथै कछुवा, माछा, अजिङ्गरका साथै हरिणलगायत पशुपन्क्षीले यहाँ आउने पर्यटकलाई लोभ्याउने गरेका छन् ।

दुई प्रजातिका वेत वनस्पतिको जङ्गल रहेकाले यस क्षेत्रलाई वेतना सिमसार क्षेत्र भनिएको वेतना सिमसार सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शम्भु भट्टराईले बताए । यहाँ विशेष गरी चिसो पानी, स्वच्छ हावा र मनोरम दृश्य भएकाले आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको उनको भनाइ छ । उनका अनुसार सिमसार घुम्न आउने पर्यटकका लागि पाइडल डुङ्गाको पनि व्यवस्था गरिएको छ ।

करिब ६५ बिघा क्षेत्रफल ओगटेको यस सिमसारमा साइबेरियाबाट आउने चराका साथै २५ प्रजातिका दुर्लभ चरा पाइन्छन् । साथै अति सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको संख्यामा फेला परेको अध्यक्ष भट्टराईले जानकारी दिए । यहाँ पाइने वनस्पति, पशुपन्छीको संरक्षणमा उपभोक्ता समिति लागिरहेको उनको भनाइ छ । उनका अनुसार विश्वमै दुर्लभ प्रजातिका कछुवा, विभिन्न जातका माछा, जीवजन्तु, वनस्पति यस क्षेत्रमा पाइन्छन् ।

सिमसारबाट आउने पानीले करिब एक हजार दुई सय बिघा खेतीयोग्य जमिनमा सिँचाइ हुँदै आएको समितिका सचिव सुजित बस्नेतले जानकारी दिए । “यहाँ आउने पर्यटका साथै सय क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले राजमार्ग क्षेत्रतर्फ तारले घेराबारा गरिएको छ भने यस क्षेत्रलाई थप आकर्षक बनाउन फूलबारी, विश्रामस्थल, वनभोजस्थल निर्माण गरिएको छ”, उनले भने ।

बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईका अनुसार वेतना सिमसारलाई पूर्वी नेपालको एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्यको रूपमा विकास गरिने बताए । उनका अनुसार पछिल्लो समय विभिन्न गोष्ठी र सेमिनारका लागि देशका विभिन्न स्थानबाट समूहमा आगन्तुक आउने गरेका छन् । वेतनामा दैनिक तीन सयभन्दा बढी र बिदाको समयमा पाँच सयभन्दा बढीको संख्यामा आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका समितिका अध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार सिमसार प्रवेशबापत ३० को टिकट निर्धारण गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्