विनोद सापकोटा,
झापा, असार ९ । गत जेठ ३० गते हराएर भोलिपल्ट शिवसताक्षी १० स्थित जंगलभित्र झुन्डिएको अवस्थामा फेला परेकी बिर्तामोड १ की ३६ वर्षीया भगवती प्रसाईलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् ।
मृतक परिवारले आत्महत्या दुरुत्साहनको आरोपमा उजुरी दिएपछि प्रहरीले बिर्तामोड १ का होम न्यौपानेलाई आज पक्राउ गरेको हो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय झिलझिलेमा राखिएको छ । मृतक परिवारले प्रमाणसहित उजुरी दिएपछि त्यसको आधारमा बोलाइएको इलाका प्रहरी कार्यालय झिलझिलेका प्रहरी निरीक्षक अनिश बुढाथोकीले बताए ।
दोषीमाथि कार्वाहीको माग गर्दै मृतकका आफन्तहरु आज ठूलो संख्यामा इलाका प्रहरी कार्यालय झिलझिले गएका थिए । उनीहरुले हिजो पनि इप्रका झिलझिले घेराउ गरेका थिए । मृतक परिवारले प्रमाणको रुपमा अडियो बुझाएको छ । सो अडियोलाई प्रमाणित गराउनका लागि झापा जिल्ला अदालत पठाएको प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । दोषीमाथि कार्वाहीको माग गर्दै आफूहरुले प्रहरीलाई उजुरी दिएको मृतकका जेठानी गंगा प्रसाईले बताईन् । यसअघि आफन्तहरुले हत्याको आशंका गरेका थिए ।
गत जेठ ३० गते भगवती घरबाट हराएकी थिइन् भने त्यसको भोलिपल्ट जेठ ३१ गते दिउँसो करिव ३ बजे शिवसताक्षी १० स्थित जंगलमा उनी झुन्डिएको अबस्थामा फेला परेकी थिइन् । सुनसरी प्रकाशपुर माइत घर भएकी भगवतीका श्रीमान् खड्ग प्रसाई वैदेशिक रोजगारीका लागि कतारमा रहेका थिए । उनीहरुका १७ र १२ वर्षका दुई छोराहरु रहेका छन् । आरोपित न्यौपाने र भगवती एकै ठाउँमा बस्दथे । न्यौपानेले ज्यान मार्ने धम्की दिएको अडियो प्रहरीलाई बुझाएको मृतकका आफन्तले जनाएका छन् ।