झापा, असार १० । कृषि क्षेत्र र कृषकलाई प्रोत्साहन दिनेगरी झापाको कमल गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८०÷०८१ का लागि वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ ।

७१ करोड ८३ लाख ८४ हजार रुपैयाँको बजेट ल्याएको गाउँपालिकाले कृषकका लागि विभिन्न कार्यक्रम ल्याएको हो । ‘कृषि उत्पादनमा बृद्धि, कमलको समृद्धि’ भन्ने लक्ष्य अनुसार कृषि उत्पादक फर्ममार्फत उत्पादनको पहिचान (ब्राण्डिङ) गरेर ‘उत्पादन साथमा अनुदान हातमा’ भन्ने नीति लिइएको छ । गाउँपालिकाले सबै किसानलाई किसान सूचीकरणमा समावेश गर्ने नीति लिएको छ भने कृषि उपजलाई बजारीकरणका लागि समुह तथा सहकारीको साझेदारीमा कृषि उपज संकलन तथा बजारीकरणको व्यवस्था गरिने, कृषि सिँचाईको बिद्युत मिटरमा उठेको बिल अनुसार ५० प्रतिशत बिल भुक्तानीमा अनुदान दिने, वडा–वडाबाटै कृषि जैविक मल उत्पादन गरी किसानलाई उपलब्ध गराउने, कृषि चुनमा अनुदान, संघीय र प्रदेश सरकारसँगको साझेदारीमा कृषि यान्त्रिकीकरण तथा कृषिका अन्य पूर्वाधार विकास गरी चाक्लाबन्दी खेतीलाई प्रोत्साहन गर्ने नीति लिइएको अध्यक्ष हुकुमसिंह राईद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा जनाइएको छ ।

भूमि बैंकको स्थापना गरी बेरोजगार र भूमिहीन युवालाई कृषि क्षेत्रमा लगाउन पहल गरिने, ‘स्वस्थ जीवनका लागि कमलको ताजा तरकारी ’भन्ने नारासहित एक घर एक करेसाबारी कार्यक्रमअन्तर्गत तरकारीको मिनिकोटमार्फत प्रोत्साहन गर्ने, किसानको समस्या निदानका लागि एक दिनभित्रै आवश्यकता अनुसार कृषि प्राविधिकको पहुँच पुर्याउने, व्यवसायिक कृषिको विकासका लागि किसानहरुमा क्षमता अभिबृद्धि, कृषि औजार उपकरण र प्रविधि हस्तान्तरण एवं प्रयोगलाई प्रोत्साहन गर्ने पनि पालिकाको नीति छ । आयुर्वेदिक महत्वका नीम, अमला, आँक, तुलसी, लसुन, अदुवा, बेसार, पुदिना आदि नगदेबाली लगाइ बजारीकरणमा समेत प्रोत्साहन गर्ने नीति लिइएको छ ।

आइतबार बसेको गाउँसभामा अनुमानित आम्दानी खर्चको विवरणसहितको बजेट प्रस्तुत गरिएको हो ।
गाउँसभाको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष राईले आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम पेश गरेका थिए भने उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले नीति कार्यक्रममा आधारित बजेट प्रस्तुत गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्