झापा, असार ११ । मोरङमा खोलाले बगाएर एक बालकसहित दुईजनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् ।

मोरङको सुन्दरहैचा नगरपालिकामा बूढीखोलाले बगाउँदा एक जनाको मृत्यु भएको हो दुई जना बेपत्ता भएका छन् ।
सुन्दरहरैचा नगरपालिका– ५ गौशालानजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो साढे १२ बजे एक्कासी आएको बाढीले चार जना महिलालाई बगाएको हो । बाढीमा बगेका चारमध्ये एक जनाको उद्दार भएको छ । एक जनाको शव भेटिएको छ ।
दुई जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।
उनका अनुसार माछा मार्ने क्रममा सुन्दरहरैचा– ५ की २२ वर्षीया स्वस्तिका चौधरीको स्थानीयले उद्दार गरेका छन् । २२ वर्षीया फुदनी भनिने प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ । ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फुला चौधरी बेपत्ता छन् । उनीहरुको खोजीका लागि मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीसहितको टोली खटिएको छ ।

त्यस्तै मोरङमा विद्यालय जाँदै गरेका बालकको खोलाले बगाएर मृत्यु भएको छ । केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको मृत्यु भएको वडाध्यक्ष शिवप्रसाद तामाङले जानकारी दिए । उनका अनुसार तर्ने क्रममा मंगलबार बिहान ९ बजेतिर श्यामलाई स्थानीय गोविने खोलाले बगाएको थियो । खोजी गर्ने क्रममा खोलाले बगाएर १ सय मिटरजति तल पुर्याएको अवस्थामा बिहान ९ः५० बजेतिर शव फेला परेको तामाङले बताए । उनका अनुसार बालकको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा शव भेटिएको छ ।
मृतक श्याम केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्