झापा,असार ११ । परीक्षा नियन्त्रण कार्यालयबाटै स्नातक तहका करिब ५ सय विद्यार्थीको उत्तरपुस्तिका हराएको घटनामा संलग्न दोषीलाई कारबाही गर्नुको सट्टा त्रिभुवन विश्वविद्यालयका उपकुलपतिलगायत पदाधिकारीले संरक्षण गरेका छन् ।

पूर्वरजिस्ट्रार चन्द्रमणि पौडेल संयोजकत्वको उच्चस्तरीय छानबिन समितिले परीक्षा नियन्त्रक पुष्पराज जोशीलगायत ७ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । गत वैशाख अन्तिम साता बुझाएको छानबिन प्रतिवेदन डेढ महिनासम्म लुकाएर पदाधिकारीले नै दोषीहरूलाई संरक्षण गरेका हुन् । उपकुलपति केशरजंग बराल, रजिस्ट्रार केदार रिजाल र रेक्टर खड्ग केसीले प्रतिवदेन कार्यकारी परिषद्मा पेस गरेर दोषीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउँदै आएका थिए । तर डेढ महिनासम्म प्रतिवेदन कार्यकारी परिषद्मा समेत छलफलका विषय नबनेको उपकुलपति कार्यालय निकट एक प्राध्यापकले बताए ।

स्रोतका अनुसार उत्तरपुस्तिका हराउनुमा लापरबाही गरेको भन्दै छानबिन समितिले परीक्षा नियन्त्रक जोशी, सहनियन्त्रक सुरेशजंग शाही र पवन बराललगायतलाई कारबाही गर्न सिफारिस गरेको छ । परीक्षा नियन्त्रण कार्यालयमा सुधार गर्न उनीहरूलाई पदबाट हटाउनुपर्ने सुझावसमेत समितिले दिएको छ ।

कार्यालयका प्रशासन प्रमुख सहप्रशासक भोजराज भट्ट र गोप्य शाखाका कर्मचारी उपप्रशासक निलम पोख्रेललाई विभागीय कारबाही गर्न सिफारिस गरिएको स्रोतले जनायो । उनीहरूले पदीय जिम्मेवारीअनुसार कर्तव्य पूरा नगरेको भन्दै परीक्षा नियन्त्रण कार्यालयबाट हटाउन प्रतिवेदनमा भनिएको छ । उत्तरपुस्तिका हराएको घटनामा बदमासी गरेको भन्दै गोप्य शाखाका शाखा अधिकृत शम्भु दाहाल र नायब सुब्बा दीपक पाण्डेलाई पनि कारबाही सिफारिस गरिएको छ ।

उनीहरूको लापरबाहीका कारण नतिजा प्रकाशन गर्न बाँकी उत्तरपुस्तिका नतिजा प्रकाशन भइसकेका उत्तरपुस्तिकासँगै नष्ट गर्न पठाइएको छानबिन समितिले औंल्याएको छ । समितिमा त्रिविका कानुनी सल्लाहकार नारायण खनाल र अनुगमन निर्देशनालयका उपनिर्देशक विष्णु वाग्ले सदस्य थिए ।
उपकुलपति बरालले छानबिन समितिको प्रतिवेदन कार्यान्वयन र दोषीलाई कारबाही गर्ने प्रक्रियामै रहेको दाबी गरे । ‘कार्यकारी परिषद्मा छलफल गरेर कारबाही प्रक्रिया अघि बढ्दै छ । परीक्षा संवेदनशील विषय भएकाले त्यस कार्यालयमा आन्तरिक व्यवस्थापन गर्दै छौं । वैकल्पिक व्यवस्थाको काम सकिएपछि कारबाही गर्छौं,’ उनले भने ।

कारबाही गरेपछि नयाँ परीक्षा नियन्त्रक नियुक्त गर्न आवश्यक पदाधिकारी नियुक्तिसम्बन्धी मापदण्ड सहितको कार्यविधि तयार भइराखेकाले पनि ढिलाइ हुन पुगेको उनले जनाए । ‘बाहिर हल्ला भएजस्तो दोषीलाई हामीले जोगाएका छैनौं । असार ३१ मा विश्वविद्यालय सभा छ । त्यो बेलासम्म उत्तीर्ण विद्यार्थीको लिस्ट (ग्रेस लिस्ट) तयार गर्नुछ,’ उनले भने, ‘उपयुक्त समयमा कारबाही हुन्छ ।’ रजिस्ट्रार कार्यालयले कारबाही अघि बढाउन स्पष्टीकरण सोध्नेलगायत प्रक्रियाबारे कानुनी परामर्श भइरहेको दाबी गरेको छ ।

२०८० वैशाखमा लिएको स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसंख्या तथा स्वास्थ्य विषय (कोड नम्बर ४२२) र शिक्षाशास्त्र संकायतर्फको शिक्षाको आधार विषय (कोड नम्बर ४१२) का उत्तरपुस्तिकाहरू हराएको गत चैतमा थाहा भएको थियो । नतिजा सार्वजनिक गर्ने बेला उत्तरपुस्तिका नभेटिएपछि चैत २१ देखि पुनः परीक्षा सञ्चालन गरिएको थियो । चितवनको वीरेन्द्र बहुमुखी, सहिद स्मृति बहुमुखी र दाङको देउखुरी बहुमुखीलगायत क्याम्पसका उत्तरपुस्तिका हराएको थियो ।

परीक्षा सकिएर देशभरबाट ल्याएको उत्तरपुस्तिका परीक्षण भएर पनि फिर्ता आएपछि सम्परीक्षण गर्ने बेलामा भेटिएको थिएन । सयदेखि डेढ सय विद्यार्थीको उत्तरपुस्तिका राखिएको छुट्टाछट्टै पोकाहरू नै हराएका थिए । हराएका उत्तरपुस्तिकाका प्राप्तांक मार्क लेजरमा चढाउन बाँकी नै थियो । नतिजा प्रकाशन भएको ४ महिनापछि मात्र उत्तरपुस्तिका नष्ट गर्न सकिने व्यवस्था छ । २०७९ मा पनि व्यवस्थापन संकायअन्तर्गत बीबीएस चौथो वर्षको एक विषयको उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा लिइएको थियो ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयबाट नतिजा प्रकाशन गर्न १८ महिनासम्म ढिलासुस्ती गर्ने, प्रश्नपत्र त्रुटि हुने, हुबहु सोध्ने, उत्तरपुस्तिका हराउने, साटफेर गर्नेलगायत अनियमितता र बेथिति दोहोरिँदै आएको छ । उत्तरपुस्तिका हराउने जस्ता लापरबाही पटक–पटक हुँदै आए पनि छानबिन हुने तर कारबाहीमा पदाधिकारीले बेवास्ता गर्दै आएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्