झापा, असार ११ । अपाङ्गता भएका व्यक्तिहरूको सम्मानपूर्वक बाँच्न पाउने अधिकारका लागि प्रदेश सरकारद्वारा जारी गरिएको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन गर्न गौरादह नगरपालिका र करूणा फाउण्डेसन नेपालबीच सम्झौता भएको छ ।

नगरपालिकाको पूर्ण स्वामित्वमा आगामी साउन १ गतेबाट सुरू भई २०८४ असार ३२ गतेसम्म कार्यक्रम सञ्चालन हुनेछ। कोशी प्रदेशको झापाका सम्पूर्ण पालिकाहरुमा संचालन हुने कार्यक्रमको सम्झौता अवधि तीन बर्षको हुनेछ । कार्यक्रमका लागि निर्देशिकामा भएको व्यवस्थाबमोजिम पहिलो दुई वर्षसम्म साझेदार संस्थाले मन्त्रालय र पालिकासँगै एकतिहाई लागत साझेदारी गर्नेछ। कार्यक्रम सञ्चालनको तेस्रो वर्षमा भने पालिकाले मन्त्रालयसँग लागत साझेदारी गर्नेछ । साझेदार संस्थाले कार्यक्रम सञ्चालनका लागि पालिकालाई प्राविधिक सहयोग उपलब्ध गराउने छ । यस आर्थिक वर्षका लागि करिब ८२ लाख बराबरको बजेट प्रस्ताब गरिएको छ ।

गौरादह नगरपालिकाका नगर प्रमुख छत्रपति सुबेदी र करुणा फाउन्डेसन नेपालका कार्यकारी निर्देशक दिपकराज सापकोटाले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा पालिकाका उपप्रमुख जलबर्षा राजवंशी , प्रमुख प्रशासकीय अधिकृत युवराज खतिवडा, गौरादह अस्पतालका प्रमुख , अपाङ्गता नगर समितिका प्रतिनिधि , करुणा फाउन्डेसन नेपालका बरिष्ठ कार्यक्रम अधिकृत बिक्रम कोइराला, बिभिन्न शाखाका प्रमुखहरुको उपस्थिति रहेको पालिका संयोजक सुशील राजभरले जानकारी दिएका छन् ।

उक्त कार्यक्रममार्फत हरेक नवजात शिशुमा जन्मदोष परीक्षण गरी जन्मदोष पहिचान भएका शिशुहरूको स्वास्थ्योपचार, विद्यालयमा रहेका १० वर्ष मुनिका बालबालिकाको स्वास्थ्य परीक्षण र व्यवस्थापनलगायतका रोकथामका क्रियाकलापहरू सञ्चालन गरिनुका साथै यस पालिकाभित्र रहेका सबै प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरी शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सशक्तिकरण र सामाजिकीकरणका क्षेत्रमा आवश्यक सहयोग प्रदान गरिनेछ । यसका अतिरिक्त पहिचान भएका सबै अपाङ्गता भएका व्यक्तिहरूको परिचयपत्रका साथै राज्यले प्रदान गर्ने सामाजिक सुरक्षाका योजनाहरूमा पहुँच विस्तार गरिनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्