झापा, असार ११ । मेलमिलाप समितिको दबाब सहन नसकेर आत्महत्या गरेका गेल राजवंशीको शव राखेर आफन्तहरुले भद्रपुरको ८ नं वडा कार्यालयमा मंगलवार दिनभर प्रदर्शन गरेका छन् ।

मेलमिलाप समितिका सुरज रेग्मीलगायतलाई कार्वाहीको माग राख्दै राजवंशीका आफन्तहरुले मंगलवार दिउँसो करिव ३ बजेदेखि राति ८ बजेसम्म वडा कार्यालयमा प्रदर्शन गरेका हुन् । भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोज्दा भद्रपुर–८ स्थित भद्रशिव मन्दिरनजिकै बसोबास गर्ने ६८ वर्षीय गेल राजवंशीले सोमबार दिउँसो झुन्डिएर आत्महत्या गरेका थिए । उनको शव पोस्टमार्टमको लागि धरान पठाइएको थियो । पोस्टमार्टमपछि ल्याइएको शव आफन्तहरुले वडा कार्यालयमा ल्याएर प्रदर्शन गरेका हुन् ।

मेलमिलाप समितिका पदाधिकारीहरूले सिधासाधा तथा निर्दोष व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) आरोपमा फसाउन खोज्दा सहन नसकेर बुबाले आत्महत्या गर्नु परेको छोरा पर्वलाल राजवंशीले आरोप लगाएका छन्। दिनभरि नारा जुलुससहित वडा कार्यालयमा शव राखेर प्रदर्शन गरेका मृतक परिवार र आफन्तसंग राति सहमति भएपछि उनीहरुले शव उठाएका छन् ।

मेलमिलाप समितिलाई कार्वाही गर्ने , घटनाको यथार्थ छानबिन गर्ने , मृतक परिवारलाई किरिया खर्च उपलव्ध गराउने , गर्भवती महिलालाई सेफ हाउसमा राख्ने , घटनाको छानबिनमा सहयोग गर्न सहयोग समिति गठन गर्ने सहमति भएको हो ।

भद्रपुर ८ को मेलमिलाप समितिमा मिति २०८१ असार ५ मा पेश गरिएको निवेदन जुन मेलमिलाप समितिको क्षेत्राधिकारसंग सम्बन्धित हो होइन , दर्ता भएको निवेदनलाई मध्यनजर गरी उत्पन्न समस्याको छानबिन गर्न प्रहरी प्रशासनसंग सहयोग माग गर्ने , छानबिन कार्यमा भद्रपुर नगरपालिका , वडा कार्यालय लगायत सम्बन्धित सबै पक्षले सहयोग गर्ने , गेल राजवंशीको काजकिरियाका लागि नगरपालिकाले २५ हजार रुपैयाँ उपलव्ध गराउने साथै क्षतिपूर्तिका सम्बन्धमा उक्त घटनाको छानबिनमा सहयोग गर्न बनेको समिति तथा भद्रपुर नगरपालिकासमेतसंग आबश्यक छलफल गरी नियम अनुसारको राहत नगरपालिकाबाट उपलव्ध गराउने , पीडित महिला र उनको गर्भमा रहेको बच्चासमेतको सुरक्षालगायत खान बस्नको लागि व्यवस्था सम्बन्धमा प्रहरी प्रशासन, सरोकारवाला परिवारसमेतसंग छलफल सल्लाह गरी भद्रपुर नगरपालिकाबाट संचालित सेफ हाउस वा अन्य उपयुक्त संस्थामा व्यवस्थापन गर्ने , गेल राजवंशीको आत्महत्यासंग सम्बन्धित विषयमा छानबिनमा सहयोग गर्न पुकार राजवंशी , असारु राजवंशी , पवन राजवंशी , सन्तोष राजवंशी , बन्धु कार्की , मन्दिप राजवंशी ,बसन्त राजवंशी , गीता मेचे , अभिशेख ढुंगाना र गौरव सुब्बा रहेको सहयोग समिति गठन गर्ने र भद्रपुर नगरपालिका वडा नं ८ को मौजुदा मेलमिलाप समितिलाई न्यायिक समिति ऐन २०७५ बमोजिम नगरपालिकाबाट तत्काल कार्वाही अगाडि बढाउने सहमति भएको हो ।

छलफलमा नगर प्रमुख गणेश पोखरेल , उपप्रमुख राधा कार्की , वडाध्यक्षहरु गौरव सुब्बा, रतिया राजवंशी, पार्टी प्रतिनिधिहरु पुकार राजवंशी , सन्तोष राजवंशी , मृतकका साला विष्णु राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्