विनोद सापकोटा,
झापा, असार १३ । शिवसताक्षी नगरपालिका वडा नम्बर ६ ठगबस्तीकी रामकुमारी राजवंशीलाई आफ्नै गोठमा बाँधेको गाईको बीमा गरेको थाहा थिएन । वडा अध्यक्ष मनोज खुलाल कार्कीलगायतका पशु प्राविधिक र बीमा कम्पनीको प्रतिनिधि उनी घरमा नभएको बेला गत वर्षको असारमा गाईको बीमा गरिदिएका रहेछन् ।

‘घरमा आएर घाँस हाल्न जाँदा गाईको कानमा .पहेलो ट्याग लगाईएको रहेछ,’ उनले भनिन्, ‘छिमेकीलाई सोधेँ मेरो गाईको कानमा कसले ‘टप’ लगाईदियो ?’ छिमेकीले उनलाई ‘वडा अध्यक्ष लगायतको टोली आएर गाईको बीमा गरिदिनु भयो’ भने । रामकुमारीलाई बीमा भनेको के हो थाहै थिएन । उनले केही रेकर्डका लागि चिन्ह लगाएर गएको होला भन्ने ठानिन् ।

गएको कात्तिकमा बीमा अर्थात कानमा ट्याग लगाईएको गाई मर्यो । महिनाको ६ हजार कमाई दिने गोठको गाई मरेपछि रामकुमारीको गाउँमा हल्लाखल्ला भयो । गाउँले भेला भए । गाईलाई पुर्न खाडल खनियो । आफ्नो रीतिरिवाज अनुसार मरेको गाईको अन्तिम संस्कार गर्न गाउँले तयार भए ।

यतिकैमा स्थानीय पशु प्राविधिक प्रेम पौडेल गाउँमा गाई मरेको हल्ला फैलिएपछि गाई मरेको घरमा पुगे । उनले मरेको गाईको बारेमा चाहेको जानकारी धनीसंग लिए । बीमा कम्पनीले गरेको उक्त गाईको कानको ट्याग उनैले लगाइदिएका थिए । रामकुमारीले भनिन् ‘यो त बीमा गरिएको गाई हो । यसको क्षतिपूर्ति अर्थात पैसा पाईन्छ भनेर मलाई प्रेम सरले भन्नुभयो । उहाँले नै वडा अध्यक्षलाई फोनबाट जानकारी दिनुभयो । वडा अध्यक्ष आएपछि मरेको गाईको फोटोलगायत आवश्यक मुचुल्का उठाएर लैजानु भएको थियो ।’

‘फोटो खिचेर फेसबुकमा हाल्ने यस्तै प्रचार गर्ने होला भन्ने ठानेको थिएँ,’ रामकुमारीले भनिन्, ‘गएको माघ अन्तिममा ५० हजार घरैमा ल्याईदिनु भयो । पैसा थापेपछि मरेको गाईको पनि पैसा पाईदो रहेछ भन्ने अनि थाहा पाएँ ।’
सरकारले दिएको रकमले फेरि गाई किन्ने उनले बताईन् । अब किनेको गाईको बीमा आफैले गर्ने उनले सुनाईन् । वडा अध्यक्ष खुलालका हरेक योजनाले आफूजस्तै विपन्न परिवारलाई छुने गरेको उनले बताइन् । उनले भनिन् ‘ अरु धरै हल्ला गर्नुहुन्छ । हाम्रो वडा अध्यक्ष बिनाहल्ला काम गर्नुहुन्छ । उहाँको योजना र कार्यक्रमले हामीजस्ता विपन्न परिवारलाई प्रत्यक्ष छोएको छ ।’
रामकुमारीले ३ वटा पशु पालेकी छन् । एउटाको वडाले बीमा गरेपनि बाँकी दुई वटा पशुको आफैले बीमा गरेको उनले बताइन् ।
रामकुमारी त वडाकी प्रतिनिधि पात्र मात्र हुन् । रामकुमारीजस्तै करिव २ सय घर परिवारले वडाबाट शून्य लगानीमा पशु बीमा गरेका छन् । २०७६ सालदेखि वडाले यो कार्यक्रम शुरु गरेको हो । पहिलो वर्ष पशु बीमाका लागि २ लाख र त्यसपछिका दुई वर्ष १ लाख ५० हजारका दरले वडामा यो कार्यक्रम संचालन भइरहेको छ । चालु आर्थिक वर्षमा पनि ७५ हजारको कार्यक्रम वडामा संचालनमा छ ।

गत वर्ष वडाले १ करोड ४७ लाख ५८ हजार बराबरको पशु बिमा गरेको थियो । वडा अध्यक्ष मनोज खुलाल कार्कीका अनुसार बीमा गरेका पशुमध्ये ८ वटा गाई मरेका थिए । किसानले ५० हजारसम्म बीमा दावी भुक्तानी पाएका थिए । ‘एनएलजी इन्स्योरेन्स’ कम्पनी बिर्तामोडका बरिष्ठ विकास अधिकारी लक्ष्मी नेपालका अनुसार गत वर्ष शिवसताक्षी ६ मा २५४ गाईको बीमा गरिएको थियो । तीमध्ये ८ वटा विभिन्न कारणले मरेका र तिनको मृत्यु दावी भुक्तानी किसानले पाएको उनले बताए ।
आदिबासी जनजातिको बाहुल्यता रहेको मानव बस्तीमा बीमा कार्यक्रम निक्कै प्रभावकारी बनेको पशु प्राविधिक प्रेम पौडेलले बताए । उनका अनुसार वडाको यो कार्यक्रम नगरमै प्रभावकारी देखिएको छ ।

यो कार्यक्रम शुरु भएपछि वडाले ५ लाख ७५ हजारको विकास बजेटको व्ययभार व्यहोरेपनि हालसम्म ४८ घर परिवारले यसको प्रत्यक्ष फाइदा लिएका छन् । यस वर्ष मात्र हेमबहादुर थापा, टिकामाया राजवंशी, पिताम्बर दाहाल, मोहनलाल राजवंशी, हेमबहादुर थापा, रामप्रसाद पौडेल , केमलाल राजवंशीले र अनिरुद्र गुरागाँईले बीमाको रकम पाएका छन् ।

मरेका पशुको बीमा बराबरको रकम घरैमा ल्याएपछि सो वडामा पशु बीमा कार्यक्रम निकै प्रभावकारी हुन थालेको छ । किसानले आफै पनि पशुको बीमा गर्न थालेका छन् ।

बुधबार पनि वडाका विभिन्न टोलमा पुगेर वडा अध्यक्ष मनोज खुलाल कार्की र महिला वडा सदस्य गोमा रिजालले विपन्न किसानका गाईको बीमा गरिदिएका छन् । वडाले बीमा गरेपछि किसानले कुनै पनि शुल्क तिर्नु पर्देन । यो कार्यक्रमबाट वडाका सयौ वडाबासी प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्