झापा,असार १३ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आज सार्वजनिक गर्दैछ ।

प्रत्येक विषयमा सैद्धान्तिक (लिखित) तर्फ न्यूनतम ३५ प्रतिशत अंक नल्याए विद्यार्थी ननग्रेडिङ हुने व्यवस्थाअनुसार पहिलो पटक एसईईको नतिजा सार्वजनिक हुन लागेको हो । बोर्डका अनुसार प्राविधिक जटिलताको अवस्थाबाहेक आज नै एसईई परीक्षाको नतिजा सार्वजनिक हुनेछ ।

बुधबार बोर्डका पदाधिकारीहरूलाई नतिजा प्रकाशनको तयारीबारे जानकारी गराएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । आज बिहान बोर्डको बैठक बोलाइएको छ । बोर्डले निर्णय गरेपछि नतिजा प्रकाशित गरिने उनले बताए ।

नयाँ पाठ्यक्रमअनुसार पहिलो पटक एसईई परीक्षा दिएका विद्यार्थीको लेटर ग्रेडिङ निर्देशिका–२०७८ को व्यवस्थाअनुसार नतिजा प्रकाशन हुने बोर्डले जनाएको छ । उक्त व्यवस्थाअनुसार विद्यार्थीले प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत अंक ल्याउनुपर्नेछ । हरेक विषयमा ७५ पूर्णाङ्कको लिखित परीक्षा सञ्चालन भएकाले न्यूनतम २७ अंक ल्याउनै पर्छ । उक्त अंक अर्थात् १.६ जीपीएभन्दा कम अंक ल्याउने विद्यार्थी ननग्रेडिङ (एनजी) मा पर्नेछन् । उनीहरूलाई बोर्डले ग्रेडसिटसमेत उपलब्ध गराउने छैन ।

निर्देशिकामा दुई विषयसम्म एनजी आउने विद्यार्थीले बोर्डले तत्कालै मिति तोकेर लिने ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् । जुन विषयमा एनजी भएको हो सोही विषयमा मात्र परीक्षा दिए हुन्छ । दुई विषयभन्दा बढीमा एनजी आए अर्को वर्ष सम्बन्धित विषयको मात्र परीक्षा दिन पाइने व्यवस्था निर्देशिकामा गरिएको छ । यस्ता विद्यार्थीले ३ वर्षसम्म वार्षिक परीक्षामा सहभागी हुन पाउनेछन् । उक्त पद्धतिअनुसार गत वर्षदेखि नै कक्षा १२ को नतिजा सार्वजनिक हुँदै आएको छ । जसअनुसार परीक्षा दिएकामध्ये करिब ५० प्रतिशत विद्यार्थी मात्रै ग्रेडिङमा पर्दै आएका छन् ।
ग्रेडिङमा परेका विद्यार्थी मात्रै माथिल्लो कक्षामा भर्ना र पठनपाठन गर्न योग्य ठहरिन्छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्