विनोद सापकोटा,
झापा, असार १३ । झापामा नेपाली सेनाले विद्यालयस्तरीय राष्ट्रिय सेवा दल (एनसीसी) तालिम सुरु गरेको छ ।


चारआलीस्थित नेपाली सेनाको अरिदमन गणले जिल्लाका सामुदायिक र संस्थागत गरी ८ वटा विद्यालयमा उक्त तालिम सञ्चालन गरेको हो । बिहीवार एकैदिन विद्यालय हातामा पुगेर ती विद्यालयमा अरिदमन गणका गणपति कर्नेल प्राजु बस्न्यातले तालिमको उद्घाटन गरेका छन्।

पहिलो पटक ५० व्याच जुनियरतर्फको एनसीसी तालिम शुरु भएको हो । उद्घाटन भएका विद्यालयमा असार १४ देखि तालिम सुरु हुने नेपाली सेनाको चारआलीस्थित अरिदमन गणका सेनानी नरेन्द्रप्रसाद खतिवडाले जानकारी दिए । सिनियरतर्फको तालिम साउन १ गतेलाई तोकिएको छ । तोकिएको कार्यक्रम फेरबदल पनि हुन सक्ने गणले जनाएको छ ।
गणले जुनियर डिभिजन तालिमका लागि जिल्लाको शिवसताक्षी नगरपालिकास्थित झिलझिले माध्यमिक विद्यालयलाई छनौट गरेको छ । झापामा सामुदायिक विद्यालयमध्ये जुनियर तालिम संचालन हुने झिलझिले मावि झापाको एक मात्र सामुदायिक विद्यालय हो ।कार्यक्रममा शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष परशुराम ढंगाना र विद्यालयका प्रधानाध्यापक खेम निरौलाले शुभकामना मन्तव्य राखेका थिए।


संस्थागततर्फ इष्ट होराइजन मेचीनगर, इस्ट पोइन्ट स्कुल भद्रपुर, टावर टेम्पल स्कुल बिर्तामोड र इन्स्पाइर बोर्डिङ स्कुल दमक चयन भएका छन् । यता सिनियर डिभिजनको तालिमका लागि धुलाबारी मावि मेचीनगर , जनता मावि अर्जुनधारा र झापा मोडल दमक चयन भएका थिए ।

एक सय दिनको एनसीसी तालिमअन्तर्गत ७९ दिन विद्यालयमै सञ्चालन हुनेछ भने बाँकी २१ दिनको तालिम ‘क्लोज क्याम्प’का रूपमा मोरङको याङशिलास्थित राष्ट्रिय सेवा दलको पूर्वी तालिम शिक्षालयमा हुने अरिदमन गणका गणपति कर्नेल बस्न्यातले बताए ।


तालिमबाट विद्यार्थीहरु राष्ट्रप्रेम, नेतृत्व विकास, अनुशासन, जवाफदेहिता, इमान्दारिता र बफादारिताका बारेमा प्रशिक्षित हुने उनले बताए । “यसका अलावा सैन्यलगायत मानवीय र सामाजिक सेवाका बारेमा विद्यार्थीलाई तालिम दिइन्छ”, उनले भने । उनका अनुसार विषद् व्यवस्थापन, सरसफाइ तथा वातावरणलगायतका विषयमा समेत जानकारी गराइन्छ ।
झापामा यो वर्ष १ सय ८० विद्यार्थीलाई यस्तो तालिममा सहभागी गराइने गणले जनाएको छ । एउटा विद्यालयबाट छात्र १८ र छात्रा १८ गरि ३६ जना तालिममा सहभागी हुन पाउने छन् । जुनियर डिभिजनमा कक्षा ८ देखि १० सम्म तथा सिनियर डिभिजनका लागि कक्षा ११ र १२ का विद्यार्थी सहभागी गराइने उनले जानकारी दिएका छन् ।


तालिमपश्चात् विद्यार्थीमा अनुशासन, बफादारिता तथा इमानदारिता, राष्ट्रिय एकताको भावना, नेतृत्व क्षमताको विकासका लागि थप सहज हुने जनाइएको छ । यस्तै विद्यार्थीले तालिमका अवसरमा एरोविक्स, तेक्वान्दो, आइकिदो, विपद् व्यवस्थापनमा उद्धार गर्न स्वयंसेवी भूमिका तथा अन्य साहसिक तालिम पाउनेछन् ।

तालिममा प्रथम भएको विद्यालयका विद्यार्थीलाई विभिन्न मुलुक पठाउने गरिएको छ । यसअघि जिल्लाका एक छात्रा र एक छात्राले अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता जनाएका थिए ।
नेपाली सेनाले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले उक्त तालिम विसं २०२२ कात्तिक ७ गतेबाट सुरु गरेको थियो । राष्ट्रिय सेवा दलको तालिमबाट मुलुकभरबाट ६१ हजार ९ सय ६५ जुनियर डिभिजन र १२ हजार ५ सय १५ सिनियर डिभिजन गरी कुल ७४ हजार ४ सय ८० जना प्रशिक्षित भएका छन् ।

नेपाली सेनाले हाल देशका ७७ वटै जिल्लामा यससम्बन्धी तालिम विस्तार गर्दै वार्षिक ७ हजार ७ सय विद्यार्थीलाई तालिम उपलब्ध गराउँदै आएको छ । सरकारमार्फत सेनाले सात मित्रराष्ट्रसँग युवा विद्यार्थीको अनुभव आदान–प्रदान कार्यक्रम सञ्चालन गर्दै आएको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्