कुमरखोद , असार १३ । राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा प्रकाशित गरेपछि झापा गाउँपालिकाका सामुदायिक विद्यालयहरुको होस नै उडेको छ ।

सामुदायिक विद्यालयमा नाम मात्रको पढाई हुन्छ भन्ने कुरा अझ प्रस्ट भएको छ । यसअघि गत महिना प्रकाशित कक्षा ८ को परीक्षाफलले कुनै पनि सामुदायिक विद्यालयले सन्तोषजनक नतिजा ल्याउन नसकेको देखाएको थियो । एसईईमा समेत सामुदायिक विद्यालयहरुले शैक्षिक स्तर सुधार्न सकेनन् । एसईई परीक्षामा पालिकाभरिका सामुदायिक विद्यालयहरुले निराशाजनक नतिजा ल्याएका छन् । झापा गाउँपालिकामा ५ वटा माविस्तरका सामुदायिक विद्यालयहरु रहेका छन् । त्यहाँ कक्षा १ देखि १२ सम्मको अध्यापन हुन्छ । झापा गाउँपालिकाले शिक्षा क्षेत्रमा अरु पालिकाको तुलनामा धेरै नै लगानी गरेको देखिएको छ तर, लगानी बालुवामा पानी हालेजस्तो छ ।

झापा गाउँपालिकाको शिक्षा शाखाले विद्यालयहरुबाट प्राप्त जानकारीका आधारमा गाउँपालिकाभरिका विद्यालयहरुको नतिजा सार्वजनिक गरेको छ । सामुदायिक विद्यालयतर्पm डिल्लीराज माविमा १२२ जना विद्यार्थीमा २ जना उत्तीर्ण , जनता माविमा १०५ जनामा ३ जना उत्तीर्ण , जनकल्याण माविमा ४० जनामा ४० जना नै अनुत्तीर्ण , कुवाडी देवी माविमा ५६ जनामा १ जना उत्तीर्ण , महेन्द्र माविमा ३४ जनामा ३४ जना नै अनुत्तीर्ण भएका छन् ।

तर,संस्थागत विद्यालयमा एसईईको नतिजा भने सन्तोषजनक देखिएको छ । झापा गाउँपालिकामा मावि स्तरका ७ वटा संस्थागत विद्यालय रहेका छन् । चन्द्रज्योति माविमा ३३ जना विद्यार्थीमा ३० जना उत्तीर्ण , जय पाथिभरा माविमा ३६ जनामा ३० जना उत्तीर्ण , साउथ होराईजन १६ जनामा ९ जना उत्तीर्ण , गौतम बुद्ध माविमा ६ जनामा ६ जना नै उत्तीर्ण , टाईनी टटस् माविमा १५ जनामा ४ जना उत्तीर्ण , वण्डर लाईफ माविमा ८ जनामा ४ जना उत्तीर्ण र सेन्ट जेवियर्स सडकवारी माविमा ३१ जनामा १५ जना उत्तीर्ण भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्