झापा, असार १४ । राष्ट्रिय परीक्षा बोर्डले गत चैतमा लिएको एसइई परीक्षामा मोरङ जिल्लाबाट आठ जना विद्यार्थीले उत्कृष्ट नतिजा ४ जिपिए प्राप्त गरेका छन् । अहिलेसम्म प्राप्त विवरणअनुसार विराटनगरस्थित एभरेस्ट स्कुलबाट परीक्षा दिएका तीन जना विद्यार्थीहरूले ४ जिपिए ल्याएका छन् । विराटनगरका तीन विद्यालयहरूले ४ जिपिए प्राप्त गर्न सफल भएका छन् भने विराटनगर बाहिर पथरी नगरपालिकाबाट दुई र उर्लाबारीबाट एक जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेको शिक्षा समन्वय इकाई मोरङले जानकारी दिएको छ ।

विराटनगरको एभरेस्ट स्कुलका कृतक्ष दाहाल, राजकुमार साह र सुब्रत बराल, सगरमाथा स्कुलकी प्रतिभा रौनियार, बुढानीलकण्ठ स्कुलकी सिरिन भट्टराईले ४ जिपिए प्राप्त गरेका छन् । यसै गरी पथरी नगरपालिकामा सञ्चालित रेड स्टार स्कुलबाट परीक्षा दिएका अजय लिम्बू र सतिस आचार्य र उर्लाबारीस्थित पशुपति आवासीय माध्यमिक विद्यालयकी अन्वेशा बस्नेतले ४ जिपिए प्राप्त गरेका हन् । बिहीबार प्रकाशित नतिजामा नेपालभरबाट १८६ जनाले ४ जिपिए ल्याउँदा मोरङका आठ जना विद्यार्थीले उक्त नतिजा प्राप्त गरेका हन् ।

विराटनगरस्थित एभरेस्ट स्कुलबाट परीक्षा दिएका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएको र कोशी प्रदेशमा उत्कृष्ट नजिता प्राप्त गर्न सफल भएको प्रिन्सिपल टिकाराम पुरीले दाबी गरे । पुरी निजी प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष हुन् ।

यसै गरी उत्कृष्ट नतिजा प्राप्त गर्नेमा सामुदायिक विद्यालयहरूले पनि राम्रो प्रतिस्पर्धा गरेका छन् । विराटनगरमा सञ्चालित दुई विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गरेका हुन् । अन्य विद्यालयहरूको नतिजा पनि सन्तोषजनक नै रहेको देखिएको छ । विराटनगरको आदर्श माध्यमिक विद्यालयबाट परीक्षा दिएका ९३.३७ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । त्यसमध्ये एक जना विद्यार्थीले ३.९५ जिपिए प्राप्त गरेको विद्यालयले जनाएको छ । आदर्शबाट ३७८ जना विद्यार्थी परीक्षामा सामेल भएकोमा ४१ जनाले ३.६ भन्दा माथिल्लो र ११२ जनाले ३.६ सम्मको जिपिए प्राप्त गरेको विद्यालयले जानकारी दिएको छ ।

यसै गरी पोखरीया माध्यमिक विद्यालयबाट परीक्षा दिएका ८९.३७ प्रतिशत विद्यार्थी उर्तीण भएका छन् । पोखरियाबाट ४३३ जना विद्यार्थी एइई परीक्षामा सामेल भएकोमा ५३ जनाले ३.६ भन्दा माथिल्लो जिपिए प्राप्त गरेका छन् ।

मोरङमा १७ हजार २७७ जना विद्यार्थी परीक्षामा सहभागी भएकामा ९ हजार २१७ जना विद्यार्थी उत्तीर्ण भएको शिक्षा समन्वय इकाई मोरङले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्