झापा, असार १४ । झापाका १५ पालिकामध्ये सबैभन्दा बढी डेङ्गुको जोखिम बिर्तामोडमा देखिएको छ ।

बाक्लो जनघनत्व र धेरै ग्यारेज भएको बिर्तामोडमा सबैभन्दा बढी डेङ्गु संक्रमित देखिएका हुन् । २०८० साउनदेखि हालसम्म झापामा ३ हजार ८८५ जनामा डेङ्गु संक्रमण देखिएकोमा १५३९ जना संक्रमित बिर्तामोडका रहेका छन् ।त्यस्तै डेङ्गु संक्रमणबाट तीनजनाको मृत्यु भएकोमा तीनैजना बिर्तामोडका हुन् ।

स्वास्थ्य कार्यालय झापाका अनुसार बिर्तामोडपछि दमकमा १४४९ जना डेङ्गु संक्रमित भेटिएका छन् । त्यस्तै मेचीनगरमा १६२ जना , बुद्धशान्तिमा ३९ , अर्जुनधारामा १०४ , कन्काईमा १२२ , शिवसताक्षीमा ३६ , कमलमा २७ , गौरादहमा १८ , गौरीगञ्जमा १५ , झापा गापामा ३६ ,बाह्रदशीमा ९ , हल्दिवारीमा १५८ , भद्रपुरमा ११० र कचनकवलमा एकजना डेङ्गु संक्रमित भेटिएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन युवनाथ बरालले बताए । स्वास्थ्य कार्यालय झापाद्वारा आज बिर्तामोड १ मा आयोजित डेङ्गु रोग नियन्त्रणसम्बन्धी अभिमुखीकरण तथा लामखुट्टेको लार्भा खोज र नष्ट गर कार्यक्रममा बोल्दै ल्याव टेक्निसियन निरीक्षक बरालले वर्षायाम शुरु भएकाले झापामा डेङ्गुको प्रकोप देखा पर्न थालिसकेको जानकारी दिए । उनले विषादी छर्किनुभन्दा लार्भा खोजेर नष्ट गर्नु नै प्रभावकारी उपाय भएको बताए । किटजन्य रोगमध्ये सबैभन्दा बढी खतरनाक डेङ्गु भएकाले रोकथामका उपाय अवलम्बन गर्न आग्रह गरे ।

एडिज जातको लामखुट्टेले दिनको समयमा टोक्दछ । त्यसमाथि पनि बिहान र साँझको समयमा टोक्ने सम्भावना बढी भएकोले सो समयमा थप सचेत हुने ,आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाउँहरूमा पानी जम्न नदिने,  पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने, दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने ,घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ,बिहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने, पूरै शरीर ढाक्ने लुगा लगाउने ,पानी राख्ने भाँडाहरू जस्तै ट्यांकी, ड्रम, बाटा, बाल्टिन आदिलाई लामखुट्टे नछिर्ने गरी राम्ररी छोपेर राख्ने साथै पानी जम्न सक्ने ठाउँमा पानी जम्न नदिन नियमित सफा गर्ने ,काम नलाग्ने र पानी भरिन सक्ने सामानहरू जस्तै बोतल, टायर, प्लास्टिकका बस्तुहरू पानी जम्न नमिल्ने गरि विसर्जन गर्ने ,कम्तिमा हप्ताको एक पटक एयर कुलर, पानी ट्यांकी, फूलदानी, गमलामा राखिएको प्लेटहरु राम्ररी सफा गर्ने उपायका बारेमा बरालले जानकारी दिएका थिए ।

बिर्तामोड १ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेको अध्यक्षतामा भएको अभिमुखीकरण कार्यक्रममा वडा सदस्यहरु युगचन्द्र आङबोहाङ, टेकबहादुर अधिकारी , वडा सचिव टीका अधिकारी , पार्टी प्रतिनिधि ,विभिन्न टोल विकास संस्थाका प्रतिनिधि , स्वास्थ्य स्वयंसेविका , सुरक्षाकर्मी ,संचारकर्मीलगायतको सहभागिता रहेको थियो । अभिमुखीकरण कार्यक्रमपछि जनप्रतिनिधिसहितको टोलीले वडा कार्यालय छेउछाउमा जमेको पानीमा लार्भा खोजी गरी नष्ट गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्