विनोद सापकोटा,
झिलझिले, असार १४ । झापाको शिवसताक्षी नगरपालिकाको एउटा सामुदायिक विद्यालयको एसईई परीक्षाको नतिजा शून्य आएको छ ।

चन्द्रडाँगीको शुक्र माविको परीक्षाफल शून्य आएको हो । शिवसताक्षी–७ को सो विद्यालयबाट एसईईमा २० जना परीक्षार्थी सहभागी थिए ।

त्यस्तै, जनआदर्श मावि शिवगञ्जबाट एकजना मात्र परीक्षार्थी उत्तीर्ण भएका छन् । ५१ जना सहभागीमध्ये ५० जना अनुत्तीर्ण भएका छन् । जनआदर्श नगरको एक मात्र नमुना विद्यालय हो ।जनआदर्श माध्यमिक विद्यालय ४ वर्षदेखि नमुना विद्यालयको रूपमा सञ्चालित छ। नेपाल सरकारले एक स्थानीय तहमा नमुना विद्यालय प्रस्ताव गरेपछि विभिन्न कार्यक्रमहरू सो विद्यालयमा सञ्चालन हुने गरेको छ।पहिलो वर्ष १ करोड ५० लाख,दोस्रो वर्ष १ करोड ३५ लाख र तेस्रो वर्ष एक करोड ५० रुपैयाँ नेपाल सरकारले त्यस विद्यालयमा लगानी गरेको छ ।

लालपानी मावि लालपानीबाट दुईजना मात्र उत्तीर्ण भएका छन् । सो विद्यालयबाट एसईईमा ३४ जना सहभागी भएकामध्ये ३३ जना अनुत्तीर्ण भए ।

नगरका एक प्राविधिकसहित १३ वटा माध्यमिक विद्यालयका विद्यार्थीले २०८० को एसईई दिएका थिए । नगरका १३ वटा विद्यालयबाट ६७० विद्यार्थीले एसईई दिएकोमा २०९ जना उत्तीर्ण भएका छन् ।

सबैभन्दा उत्कृष्ट नतिजा राष्ट्रिय रमणीय आदर्श माविले ल्याएको छ । सो विद्यालयबाट ९४ जना विद्यार्थी सहभागी भएकोमा ६० जना अर्थात ६३. ८३ प्रतिशत उत्तीर्ण भएका छन् ।

त्यस्तै, लक्ष्मीनारायण मावि धरमपुरबाट ४० जना सहभागीमध्ये १८ जना, भानु मावि लालझोडाबाट ८५ जना सहभागीमध्ये ३७ जना, भगवती मावि, ब्याङडाँडाबाट ६२ जना सहभागीमध्ये २२ जना, बालनिकुञ्ज मावि आँपटारी माइधारबाट ८२ जना सहभागीमध्ये २८ जना उत्तीर्ण भएका छन् ।

त्रिभुवन मावि पाँचगाछीबाट ५२ जना सहभागीमध्ये १३ जना, मोती मावि, मंगलबारे धरमपुरबाट ४७ जना सहभागीमध्ये ९ जना, झिलझिले मावि, झिलझिलेबाट ५९ जना सहभागीमध्ये ११ जना, भानु मावि पाराबारी धरमपुरबाट ४४ जना सहभागीमध्ये ८ जना उत्तीर्ण भएका छन् ।

प्राविधिक धारतर्फ भानु मावि लालझोडाबाट ४७ जना सहभागीमध्ये ३७ जना उत्तीर्ण भएका छन् । शिवसताक्षीमा सबैभन्दा बढी पाँचवटा माध्यमिक विद्यालय वडा नम्बर ५ मा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्