झापा, असार १५ । सर्बियाको जंगलमा बन्धक परेको भनिएका झापा बिर्तामोड–२ का ४५ वर्षीय आमाशु राजवंशी र २५ वर्षीय पशुपति राजवंशीको परिवार हिजोदेखि तनावमा छन् ।

बन्धक परेका भनिएका पशुपति र आमाशु

बन्धक परेको भन्दै पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि राजवंशी परिवार तनावमा परेका हुन् । हिजोदेखि गएरातिसम्म लगातार टेलिफोन गरी त्यस्तो धम्की दिएको राजवंशीका आफन्त बिर्तामोड नगरपालिकाकी कार्यपालिका सदस्य राजवंशीले बताइन् । बन्धक बनाएको भनिएका आमाशु शर्मिलाका काका र पशुपति काकाका छोरा हुन् । आमाशु गत चैतको अन्तिम र पशुपति बैशाखको पहिलो साता विदेश गएका थिए । उनीहरु साढे ६ लाख रुपैयाँ खर्चिएर इजिप्टका लागि गएका थिए । मानव तस्करको चंगुलमा परेर राजवंशीद्वयसहित ११ जनालाई दक्षिणपूर्वी यूरोपेली मुलुक सर्बिया पुर्याइएको थियो । अन्यको बारेमा खुलेको छैन ।

हिजो बिहान विदेशी नम्बरबाट फोन आएको थियो । फोनबाट आफन्तहरुलाई जनही ३ लाख पठाइदिन अनुरोध गरेका थिए । शर्मिलाले भनिन्,‘पैसा नदिए मार्ने धम्कीसहित बिहानदेखि रातिसम्म लगातार फोन आइरहेको छ घरी हिन्दी बोल्छन् घरी अरु भाषा ।’उनले फिरौती रकम बढाउँदै लगेको जानकारी दिइन् ।

११ जनालाई सर्बियाको जंगलमा हातखुट्टा बाँधेर बन्धक बनाइएको खबर आएको शर्मिलाले सुनाइन् । रकम पठाउन एकाउन्ट नम्बर पनि पठाइएको छ । राजवंशी परिवारले पैसा पठाउन खोज्दा एकाउन्ट नम्बर भने मिलेन । आफन्त समस्या परेको कुरा शर्मिलाले इलाका प्रहरी कार्यालय बिर्तामोड, जिल्ला प्रशासन कार्यालय झापा र सामी परियोजनामा जानकारी गराएको बताइन् । इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले नेपाली बन्धक भएको खबर परिवारमार्फत आएको र बन्धक भएकै भए उद्धारका लागि सम्बद्ध निकायसँग समन्वय गरिएको बताए ।

राजवंशीद्वय मेचीनगर इटाभट्टाकी सपना राजवंशीमार्फत काठमाडौंका विज्ञान खरेलको सम्पर्कमा पुगेको र खरेलले नै उनीहरुलाई विदेश पठाएको पारिवारिक स्रोतले जनाएको छ । सपनाका श्रीमान् नरेश राजवंशी रोमानियामा छन् । उनकै मार्फत राजवंशीद्वय गएको बताइएको छ । बन्धक बनाएको खबरपछि घरका सबै सदस्य चिन्तित बनेको बताउँदै अहिले बिहान एजेन्ट सपनालाई घरमा बोलाएको कार्यपालिका सदस्य शर्मिलाले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्