बिर्तामोड, असार १६ । आधुनिक कृषि उपकरण र प्रविधिको प्रयोग बढेसँगै उपेक्षित बन्दै गएको गोरु र राँगा हलको हिजो असार १५ मा निकै माग देखियो ।

असार १५ को कार्यक्रम गर्नकै लागि आयोजकहरु गाउँगाउँमा गोरु र राँगा हल खोज्दै हिडेको पाइयो । राँगा हल भएका बिर्तामोड ९ का गजाधर कुर्मीलाई खोज्दै निकै जना आए । जसबाट असार १५ मा उनको कमाई राम्रै भयो । असार १५ मा आयोजना गरिएको सामूहिक रोपाइँमा उनले राँगा हल नारिदिए । जोत्ने अनि फोटो खिच्नेको बाक्लै भीड लाग्यो । कहिल्यै हलो नजोत्नेहरुले हलो समाएर खिचेको तस्वीरहरु सामाजिक संजालमा बाक्लै पोस्ट गरिएका छन् । नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेबे , रोङ गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्वो , चेम्बर अफ कमर्सका अध्यक्ष ओमकृष्ण बिमलीलगायतहरु गोरु हल समाउन पाउँदा निकै रमाए ।

कृषि उपकरण र प्रविधिको प्रयोगले हलो र गोरु लोप हुन थालेका छन् । किसानहरुले खेतबारी जोत्न छिटो छरितोे, सजिलो र भरपर्दो यन्त्र ट्रयाक्टरको प्रयोग गर्न थालेसँगै हलो र गोरु लोप हुन थालेको हो ।आधुनिक प्रविधि भित्रिएसँगै झापाको अधिकांश स्थानमा हलो र गोरुको प्रयोग हुन छाडेको छ । परम्परागत कृषि कर्ममा सर्वाधिक प्रयोग हुने हलो र गोरुलाई हिजोआज ट्रयाक्टरले विस्थापित गरिदिएको हो ।

आधुनिक प्रविधिको प्रयोगले कृषिमा लागत कम लाग्ने र उत्पादन बढी हुने हुँदा किसानहरु त्यसतर्फ आर्कषित हुँदै गएका छन् । पहिले खेतबारी जोत्नका लागि हलो र गोरुको प्रयोग सर्वाधिक हुन्थ्यो । त्यो अहिले निकै झन्झटिलो र खर्चिलो भएको छ । अहिले कम खर्चमा विनाझन्झट छिटो काम हुने ट्रयाक्टरको प्रयोग व्यापक हुन थालेको छ ।

तर, गोरु पाल्न छोडेका केही किसानले पछिल्लो समय गोरुको महत्व बुझेर फेरि पाल्न थालेका छन् । वर्षौदेखि गोरु पाल्दै आएका बिर्तामोड ९ का बमबहादुर चौधरी कहिल्यै खाली बस्दैनन् । पाल्न साह्रो भएपनि गोरुबाट राम्रै आम्दानी भइरहेको उनले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्