झापा,असार १७ । नेपालमा बर्खा सिजनमा देखापर्ने सरुवा रोगमध्ये एक हो ‘स्क्रब टाइफस’ । यो रोग उपियाँको टोकाइबाट मानिसमा सर्दछ । यो रोग उपियाँमा पाइने ‘ओरेन्सिया’ जीवाणुबाट लाग्ने भेरी अस्पतालका फिजिसियन डा. संकेत कुमार रिसालले बताए ।

यो किर्ना प्रायः घरपालुवा जनावर, झाडी, खेतबारी, वनजङ्गल, घर वरिपरिको झाडीमा रहने गर्दछ । ‘टाइफस’ र ‘स्क्रब टाइफस’ दुई स्टेजको हुन्छ । जुम्रा, लामखुट्टे लगायतले टोकेमा टाइफस हुने र उपियाँ, किर्नाले टोकेमा ‘स्क्रब टाइफस’ हुने रिसाल बताउँछन् ।

‘स्क्रब टाइफस’ मानिसबाट मानिसमा सर्दैन । नेपालमा गाई–भैँसी, बाख्रा लगायत पालिन्छ । समृद्ध समाजमा कुकुर लगायत विभिन्न जनावर पाल्ने गरिन्छ । यी जनावरहरूमा उपियाँ हुन्छन् । ती उपियाँले मानिसलाई टोकेमा सङ्क्रमण हुने डा. रिसालले बताए ।

अरु सिजनमा घर पालुवा चौपाया चरनका लागि बाहिर लैजाने भए पनि बर्खा सिजनमा घर छेउछाउको गोठमा रहन्छन् । मानिससँग सम्पर्क हुनासाथ उपियाँले मानिसलाई टोक्ने र ‘स्क्रब टाइफस’ को जोखिम बढी हुने डा. रिसाल बताउँछन् । ‘स्क्रब टाइफस’को जोखिम बाह्रै माहिना हुने भए पनि बर्खा सिजनमा बढी हुने उनको भनाइ छ ।
गर्मीमा मानिसको स्वास्थ्य सामान्यभन्दा केही कमजोर हुन्छ । यस्तो अवस्थामा सङ्क्रमण हुँदा बढी जोखिम हुन्छ । ‘गर्मीमा पाचनप्रक्रिया डिस्टर्ब हुन्छ, हामी कमजोर भयो भने रोगले च्याप्ने हो,’ उनले भने, ‘घरपालुवा जनावर घरको वरिपरि हुन्छ । पानी पर्दा ती जनावर मानिससँग क्लोज हुने भए । गोठमा बस्ने भए, सो अवस्थामा सङ्क्रमण रेट बढी हुन्छ ।’
रिसालका अनुसार बर्खामा जनावर चरनमा नलैजाने भएपछि जङ्गल, खेतबारीमा घाँस काट्न जानुपर्ने हुँदा किर्नाले टोकेर ‘स्क्रब टाइफस’ को सङ्क्रमण हुन्छ । ‘यसका साथै बर्खामा किरा फट्याङ्ग्राहरू, उपियाँ एक्टिभ हुन्छन्,’ उनले भने, घाँस काट्न जाँदा, बस्तुभाउको स्याहार गर्दा किराहरूले टोक्न सक्छन्,’ उनले भने ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्