झापा,असार १९ । भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भागदौड हुँदा हालसम्म एक सय १६ जनाको मृत्यु भएको छ। त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएका छन्।

टाइम्स अफ इन्डियाका अनुसार मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको छ।

मृत्यु हुनेमा अधिकांश महिला छन्। भेटिएका शवमध्ये १०८ वटा महिलाको, एउटा पुरूषको र सात वटा बालबालिकाको भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

मंगलबार युपीको हाथरस सहर नजिकै एक धार्मिक प्रचारकको प्रवचन कार्यक्रम थियो। प्रवचन सुन्न आएका सयौं मानिस कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा धूलोको आँधी आएजत्तिकै भएको थियो। त्यही क्रममा भागदौड हुँदा धेरै व्यक्तिले ज्यान गुमाएका हुन्।

भागदौडका कारण धेरै मान्छेको किचिएर मृत्यु भएको र शवहरू एकमाथि अर्को लडेको अवस्थामा फेला परेको स्थानीय प्रहरी अधिकारीहरूले जनाएका छन्।

’उपस्थित मानिसहरू कार्यक्रम स्थलबाट बाहिर निस्किँदै गर्दा धूलोको आँधी उठेको थियो। उनीहरूले केही देख्न सकेनन् र भागदौड सुरू भयो। त्यसपछि दुःखद घटना भयो,’ अलीगढ सहरका उच्च प्रहरी अधिकारीले भनेका छन्।

प्रवचन सुन्न गएका मानिसहरूबीच यो भागदौड किन र कसरी सुरू भयो भन्नेबारे अहिलेसम्म यकिन जानकारी भने छैन। प्रहरीले यसबारे खोजबिन र अनुसन्धान गरिरहेको बताएको छ।

घटनामा घाइते भएका सयौं व्यक्तिलाई अस्पताल पु¥याइएको छ। उनीहरूमध्ये केहीको अवस्था गम्भीर भएकाले मृतकको संख्या बढ्ने अनुमान छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै मृतक र घाइतेको परिवारलाई आर्थिक सहयोग गर्ने बताएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्