झापा, असार १९ । सप्तकोशी नदीको बहावमा उतारचढाव सुरु भएसँगै सुनसरी र सप्तरी जिल्लाका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । जुनकुनै समयमा बढ्नसक्ने जलस्तरले निम्त्याउन सक्ने विपद्लाई दृष्टिगत गर्दै तटीय भेगका दुवै जिल्ला सुनसरी र सप्तरीले सतकर्तासहितको आवश्यक तयारी अघि बढाएको हो ।

बाढी पूर्वतयारीलाई लिएर कोशी ब्यारेजमा दुवै जिल्लाका सुरक्षा निकायको उपस्थितिमा आकस्मिक बैठक डाकिएको छ । बैठकले नदीमा आउनसक्ने बाढीको आँकलन गर्दै सूचना संप्रेषण र विपद् पूर्वतयारीको कार्यलाई तदारुकताका साथ बढाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बाढीसँगै कोशीमा डुङ्गा चलाउन र माछा मार्न प्रशासनले रोक लगाएको जानकारी दिए । बैठकले पानीको बहावसँगै आवश्यकताअनुसार ब्यारेजका ढोका खोल्न संयुक्त पहल गर्ने निर्णय गरेको उनको भनाइ छ ।

सप्तकोशीमा बहाव बढ्दै जाँदा सम्भावित जोखिम मानिएका स्परको सुरक्षामा प्रशासनले विशेष चासो दिएको छ । नेपाली पक्षको समन्वयमा उक्त क्षेत्रमा भारतीय पक्षले तारजाली र बालुवा भरिएका बोरा राख्ने काम जारी राखेको छ ।

यसैगरी, ब्यारेजमा सम्पन्न प्रजिअसहित सुरक्षा निकायको बैठकले सीमापार हुने अपराध र तस्करी नियन्त्रणका साथै तीव्र गतिका कारण राजमार्गमा हुने दुर्घटना न्यूनीकरणका सवालमा समेत सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ । टोलीले कोशी ब्यारेज नियन्त्रण कक्ष (कन्ट्रोल रुम) का साथै ब्यारेज पुलको संरचना र नदी तटीय क्षेत्रको निरीक्षण गरेको छ । सप्तकोशी नदीमा केही दिन यता दुई लाख क्युसेकको आसपास बहाव मापन हुँदै आएको छ ।

सप्तकोशीको जलस्तर बढ्दा पछिल्ला केही वर्ष यता ब्यारेजका ५६ वटै ढोका खोलिँदै आइएको छ । भारतीय पक्षको नियन्त्रणमा रहेको ब्यारेजका ढोका खोल्न नेपाली पक्षले भारतसँग आग्रह गर्नुपर्ने हुन्छ । भारतीय पक्षले भने जलस्तरको मापनका आधारमा ब्यारेजका ढोका खोल्ने गर्छ । ढोका खोल्न ढिला हुँदा वर्षेनी नेपाली भूभाग डुबानमा पर्ने गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्