विनोद सापकोटा,
शिवगञ्ज ।झापाको शिवसताक्षी नगरपालिका– ६ शिवगञ्जकी ७१ वर्षीया वृद्धालाई आफूमा आङ खस्ने (पाठेघर खस्ने) समस्या रहेको मंगलबार मात्रै थाहा भयो ।

केही वर्ष अगाडिदेखि नै उनमा उक्त समस्या रहेको चिकित्सकले पत्ता लगाएका थिए । त्यसै बेलादेखि उनलाई उपचार गर्न चिकित्सकले सुझाएका थिए । यसअघि आफूमा भएको समस्या पत्ता लगाउन सदरमुकामस्थित मेची प्रादेशिक अस्पताल एक–दुई पटक गइन् । चिकित्सकले औैषधी सेवन गर्दा ठिक हुन्छ भनेपछि ती महिलाले नियमित औषधी सेवन गर्न थालिन् ।

मंगलबार स्थानीय शिवसताक्षी ६ नं वडा कार्यालयद्वारा प्राथमिक स्वास्थ्य केन्द्रमा महिलामा हुने पाठेघर, सम्भावित स्तन क्यान्सर र मुटुको परीक्षणका लागि स्वास्थ्य शिविर आयोजना गरिएको थियो । सो शिविरमा उनै ७१ वर्षीया वृद्धा पनि आईन् । उनले स्वास्थ्यकर्मीलाई आफ्नो समस्या सुनाईन् र अघिल्ला रिपोर्ट पनि देखाईन् । चिकित्सकका अनुसार उनमा पाठेघरको क्यान्सर ‘पोजेटिभ’ देखियो । चिकित्सकले उनलाई तत्कालका लागि बिर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पतालमा रेफर गरे । ७१ वर्षिया वृद्धाको पहिचान गोप्य राखिएको छ ।

महिलामा पाठेघरको मुख र स्तनमा हुने क्यान्सरलाई न्यूनीकरण गर्ने प्रयास भइरहेका छन् । सहरी क्षेत्रमा बसोबास गर्नेको स्वास्थ्य सेवामा सहज पहुँच भएपनि ग्रामीण क्षेत्रका महिलाहरू यस विषयमा त्यति सचेत छैनन् । बिरामी परेपछि मात्रै स्वास्थ्य संस्थामा जाने प्रचलनले पनि महिलामा पाठेघर र स्तन क्यान्सर गहिरिइरहेको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष मनोज खुलाल कार्कीले बताए ।

आफ्ना वडाका महिलाको स्वास्थ्य परीक्षणका लागि वडाले स्वास्थ्य शिविर आयोजना गरेको हो । सो शिविरमा १६६ जना महिलाले चिकित्सकलाई आफ्नो समस्या देखाए र सुनाए । वडाका महिलामा हुन सक्ने स्तन र पाठेघरको क्यान्सर न्यूनीकरणका लागि शिविर संचालन भएको थियो । वडाका आमा, दिदी र बहिनीमा कुनै पनि बेला ‘क्यान्सर पोजेटिभ’ को अवस्था नआओस् भनेर पूर्वाञ्चल क्यान्सर अस्पताल विर्तामोडको प्राविधिक सहयोगमा ‘निःशुल्क स्क्रिनिङ शिविर’ राखेर पाठेघर र स्तन परीक्षण शिविर आयोजना गरिएको वडा कार्यालयले जनाएको छ ।

पूर्वाञ्चल क्यान्सर अस्पतालका डा. आलोक ठाकुर, डा. कृपेश आचार्य र डा. ऋचा गोइतले शिविरमा आएका महिलाको स्वास्थ्य परीक्षण गरेका थिए । शिविरमा ‘भिआइए’ विधिमार्फत पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको परीक्षण गरिएको थियो । यीमध्येका चार जनामा ‘भिआइए पोजेटिभ’ नतिजा आएको भन्दै क्यान्सरको सम्भावना हुनसक्ने भएकाले थप परीक्षणका लागि समन्वय गरिएको थियो ।

छ जनामा आङ खस्ने समस्या देखिएको छ । ‘स्क्रिनिङ’ गरिएकामध्ये कसैमा पनि स्तन क्यान्सरको शङ्कास्पद अवस्था नदेखिएको शिविर संयोजन गर्ने सम्पन्न सवल नेपालकी उपाध्यक्ष लिला सेलवालले बताईन् ।‘भिआइए’ विधिमा पाठेघरको मुखको मांसपेशीको कुनै नमुना निकालेर एसिटिक एसिडमा एक मिनेटसम्म राखेपछि क्यान्सरको शङ्का गर्न सकिने वा नसकिने भन्ने अवस्था टुङ्गो लाग्ने भएकाले ‘स्क्रिनिङ’ शिविरमा यसैका माध्यमबाट परीक्षण गरिएको उनले जानकारी दिईन् ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्कीले ग्रामीण क्षेत्रमा रहेका धेरै महिला थाहै नपाइ पाठेघरको मुख र स्तन क्यान्सरबाट पीडित भएको हुनसक्ने जोखिम रहेको बताइन् । ग्रामीण क्षेत्रमा यस्ता परीक्षण गर्न सक्ने दक्ष जनशक्ति र उपकरण नहुने भएकाले राज्यले ग्रामीण क्षेत्रका नागरिकलाई पहिलो प्राथमिकतामा राखेर योजना तर्जुमा तथा कार्यान्वयन गर्नुपर्नेमा उनले जोड दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्