झापा, असार २० । यस वर्ष बाढीको उच्च जोखिममा रहेको झापामा पूर्वसूचना प्रणालीलाई जोड दिँदै थप तीनवटा साइरन जडान गरिँदै छ ।


मनसुनजन्य विपद्को क्षति न्यूनीकरण गर्न झापाका विभिन्न स्थानमा साइरन जडान गर्ने कार्यलाई तीब्रता दिँदै हिजो बाह्रदशी १ को भागुडुब्बामा साइरन जडान गरिएको छ । जसबाट बाह्रदशीको दक्षिणी क्षेत्र , कचनकवल र पिण्डालवारीका बासिन्दाहरुले साइरनबाट बाढीको पूर्वसूचना पाउँछन् ।

त्यस्तै आज झापा गाउँपालिकाको सडकवारीमा रहेको सेन्ट जोसेफ स्कुलको छतमा जडान गरिने छ । त्यस साइरनले झापा गाउँपालिकाभरिका बासिन्दाहरुलाई अलर्ट गर्ने छ ।

त्यस्तै भोलि गौरीगञ्जको कुन्जीवारीमा रहेको बालकल्याण माविको छतमा जडान गरिने भएको छ । त्यसबाट गौरीगञ्ज गाउँपालिकाका दक्षिणी क्षेत्रका बासिन्दा बाढीको विपद्बाट पूर्व सुसूचित हुनेछन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जिल्लामा थप तीन वटा साइरन जडान गरिरहेको हो । करिव एक महिनाअघि प्राधिकरणले निन्दा र बिरीङ खोलामा एक–एक वटा साइरन जडान गरेको थियो।

धेरै वर्षअघि नेपाल रेडक्रस सोसाइटीको पहलमा कन्काई नदीमा साइरन जडान गरिएको रेडक्रस झापाका सभापति लोकराज ढकालले बताए ।

यसअघि झापाको राजमार्ग क्षेत्रमा मात्र साइरन जडान गरिएकोमा अब अति जोखिमयुक्त ग्रामीण क्षेत्रमा पनि साइरन जडान गरिएको रेडक्रसका सभापति ढकालले बताए ।

नदी तथा खोलाहरुमा जलसतह सतर्कता तहभन्दा माथि पुगेपछि ती साइरनले करिव दुई किलोमिटर क्षेत्रसम्म आवाज दिँदै स्थानीयबासीहरुलाई सचेत गराउने गर्छन् । त्योसंगै कन्काईमा एसएमएस प्रणालीको पनि व्यवस्था गरिएको छ । कन्काईमा रहेको वर्षामापन यन्त्रले जलसतह ३.८ मिटर माथि पुगेपछि एसएमएस पठाउने गरेको सहायक प्रमुख जिल्ला अधिकारी विश्वराज नेपालले बताए ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार जलसतह ५.२ मिटरलाई सतर्कता तह मानिन्छ भने ५.६ मिटरलाई खतराको तह मानिन्छ । निन्दा र बिरीङमा जडान गरिएका साइरनले पूर्णता पाइनसकेको बताउँदै सहायक प्रमुख जिल्ला अधिकारी नेपालले जिल्ला विपद् व्यवस्थापन समितिसंग समन्वय गरेर पूर्वसूचना प्रवाह गरिने जानकारी दिए ।जिल्लाका १५ पालिकामध्ये बाढीको उच्च जोखिममा ६ पालिका छन्। गौरीगञ्ज, कचनकवल, बाह्रदशी, कमल गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिका बाढीको उच्च जोखिममा छन्।

त्यस्तै मेचीनगर, गौरादह, अर्जुनधारा, कनकाई, दमक नगरपालिका बाढीको मध्यम जोखिममा रहेका छन् भने हल्दिबारी, बुद्धशान्ति गाउँपालिका र बिर्तामोड नगरपालिका न्यून जोखिममा छन्।
यो वर्ष अत्यधिक वर्षा हुने मौसम विभागको प्रक्षेपणअनुसार समितिले जिल्लामा करिब आठ हजार ९१९ घरधुरी बाढीका कारण प्रभावित हुने आँकलन गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्