झापा,असार २० । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत चयन भएका छन् ।


काठमाडौंमा जारी दशौं राष्ट्रिय महाधिवेशनले नेपाललाई अध्यक्ष र भुसाललाई महासचिवमा सर्वसम्मतले चयन गरेको हो ।
महाधिवेशनको हलले पार्टीको सम्मानित नेतामा झलनाथ खनाललाई निर्वाचित गरेको नेता बेदुराम भुसालले जानकारी दिए । ‘अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाललाई हलले सर्वसम्मत चयन गरेको छ । पार्टीको सम्मानित नेतामा झलनाथ खनाल चयन हुनुभएको छ,’ भुसालले भने, ‘हामी अन्य पदहरुमा छलफल गरिरहेका छौँ ।’

पार्टीको अध्यक्षका लागि नेपाल र भुसाल दुवैले दाबी गर्दै आएका थिए । तर अन्तिम समयमा सर्वसम्मतरुपमा नेतृत्व चयन गर्नु उपयुक्त हुने भन्दै उम्मेदवारको मनोनयन दर्ता रोकिएको थियो । अन्ततः महाधिवेशनले अध्यक्षमा पुनः नेपाल र महासचिवमा पुनः भुसाललाई नै निर्वाचित गरेको हो ।

महाधिवेशनले २१ पदाधिकारीसहित २९९ केन्द्रीय कमिटी चयन गर्नेछ। केन्द्रीय कमिटीमा प्रत्येक जिल्लाबाट १ जना, प्रदेशअन्तर्गतका २५०० संगठित पार्टी सदस्य बराबर १ जनाका दरले थप हुने, समावेशी क्षेत्रबाट (महिला, आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, थारू, अल्पसंख्यक र अपाङ्गता) ७० जना र पदाधिकारीसहितको खुल्ला क्षेत्र ८० जना चयन हुने जनाइएको छ ।

त्यस्तै, भूगोललगायत विभिन्न कार्यक्षेत्र, समावेशी र खुला निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा प्रत्येक क्षेत्रमा ३३ प्रतिशत महिलालाई आरक्षणको व्यवस्था छ । महिलालगायतका सबै निर्वाचन क्षेत्रबाट केन्द्रीय कमिटीको निर्वाचन गर्दा २० प्रतिशत २५–४५ वर्ष उमेर समूहलाई आरक्षण गर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्