बिर्तामोड, असार २१ । मिर्गाैला प्रत्यारोपण गरेर वीर अस्पतालमा थप उपचार गराइरहेका पत्रकार प्रेमबहादुर दियाली ( पिबि दियाली ) लाई थप सहयोग जुट्नेक्रम जारी छ ।

बिर्तामोडस्थित गोर्खा फाउन्डेसनको फेसबुक म्यासेन्जरमा जोडिएका दुई सय बढी शुभेच्छुकले पत्रकार दियालीलाई तीस हजार बढी रकम सहयोग गरेको फाउन्डेसनका संस्थापक अध्यक्ष वीरु दर्नालले जानकारी दिए ।

कसैलाई भार नपरोस् र कोही पनि नछुटून् भन्ने उद्धेश्यले एक सय रुपैयाँ सहयोग समर्पण अभियानमार्फत् फाउन्डेसनको म्यासेन्जर ग्रुपमा आवद्ध सदस्यहरूले स्वेच्छिक रुपमा एक सयदेखि दुई हजारसम्म दियालीको खातामा सिधै जम्मा गरेका थिए । तीन दिनसम्म चलेको अभियानबाट उक्त रकम जम्मा भएको अध्यक्ष दर्नालले बताए ।

ग्रुपमा कसैलाई ब्यक्तिगत अनुरोध नगरी स्वतःस्फूर्त अभियान सफल भई यति छोटो समयमा लक्ष्यभन्दा माथि सहयोग जुटेकोमा फाउन्डेसनमा आवद्ध सदस्यप्रति गर्व रहेको दर्नाल बताउँछन्।

अभियानका सदस्य, सामाजिक ब्यक्तित्व तथा सहारा नेपाल साकोसका प्रमुख कार्यकारी अधिकृत महेन्द्रकुमार गिरीले यस्तो अभियानले सबैको सानो सानो सहयोगबाट जीवनदान प्राप्त हुन सक्ने र कसैलाई पनि ठुलो आर्थिक भार नपर्ने बताए । गोर्खा फाउन्डेसनको यस किसिमको अनुकरणीय कार्य आगामी दिनमा समेत गर्न सबै एक हुनुपर्ने उनले बताएका छन् ।

त्यस्तै एमालेका युवा नेता तथा युवा संघ नेपालका स्थायी कमिटी सदस्य पर्वत भण्डारीले यस्तै अनुकरणीय कार्य आगामी दिनमा समेत निरन्तरता रहोस् भन्ने बिश्वास व्यक्त गरेका छन् । ‘हामी सबै मिलेर यसरी नै आगामी दिनमा धेरै सामाजिक जिम्मेवारी उठाउनु पर्नेछ । एकतामा बल हुन्छ , थोपा थोपा मिलेर नै सागर बन्ने हो ’ उनले उल्लेख गरेका छन् ।

सुनसरी , ईटहरीका क्रियाशील पत्रकार दियाली पत्रकार महासंघ कोशी प्रदेश कार्यसमिति सदस्य हुन् । गणराज्य दैनिक तथा मकालु टुडे अनलाईनका सम्पादक दियालीलाई गत महिना कोशी प्रदेश आन्तरिक मामिला मन्त्रालयले एक लाख राशिको नगद पुरस्कारसहित सम्मान गरेको थियो । दियालीको उपचारको लागि बिभिन्न ब्यक्ति र संस्थाबाट सहयोग आइरहेको बताईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्