लक्ष्मी उप्रेती,
बाहुनडाँगी । नेपालमै पहिलो पटक हात्ती आगमन सूचना प्रविधि केन्द्र झापाको मेचीनगरमा सञ्चालनमा आएको छ ।

उक्त केन्द्रको मेचीनगर—४ बाहुनडाँगीमा आज प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले शुभारम्भ गरे । मेचीनगर नगरपालिकाले आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले आफ्नै मोवाइलमा लुना जीपीएस एप डाउनलोड गरी त्यसको बटम थिचेर सूचना प्रवाह गरी कन्ट्रोल रुममा रहेको स्क्रिनमा साइरन बजेपछि विधिवत रुपमा केन्द्रको शुभारम्भ भएको थियो । बाहुनडाँगी छोटी भन्सारको भवनलाई कन्ट्रोल रुम बनाइएको छ भने त्यही स्क्रिन राखिएको छ । यस एपमार्फत हात्ती आएको संकेत कसैले गरेमा यहि साइरन बज्नेछ र सर्वसाधारणले हात्ती आएको खवर पाउने छन् ।
यसअघि प्रकृति प्रकोपसम्बन्धी सूचनाका लागि धनगढी महानगरपालिका, टीकापुर, ठाकुरबाबा, सिद्धार्थ नगरपालिका गरी चारवटा स्थानीय तहमा प्रकृति प्रकोप आगमन सूचना प्रविधि केन्द्र सञ्चालनमा आएको थियो । हात्तीका लागि देशभरमै पहिलो पटक झापाको मेचीनगरमा केन्द्र सञ्चालनमा ल्याईएको यसका सहजकर्ता उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढीका सल्लाहकार रमेश थापाले जानकारी दिए । उज्यालो नेपाल बर्दिया र समाजका लागि युवाको सहकार्य धनगढी नामक संस्थाले करिव ८ लाख रुपैयाँको लगानीमा यो प्रविधि सञ्चालनमा ल्याएको मेचीनगर वडा नम्बर —४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले जानकारी दिए ।
शुभारम्भ समारोहमा बोल्दै प्रमुख अतिथि सभामुख घिमिरेले देशका थुप्रै ठाउँमा जंगली हात्तीको समस्या भएपनि झापाका विभिन्न पालिका समेत त्यसबाट अछुतो नरहेको बताए । । त्यसमा पनि झापाको मेचीनगर—४ स्थित बाहुनडाँगीमा जंगली हात्तीको समस्या ज्यादै हुने गरेको बताए ।जंगली हात्तीको आतंकका कारण हरेक वर्ष मानिसको मृत्युसँगै हजारौं घरपरिवार विस्थापित हुने तथा यसबाट ठूलो धनजनको क्षति, खेतीयोग्य जमिनको विनास हुने गरेको छ । यसले जनजीवनमा ठूलो असर पारेको सभामुख घिमिरेको भनाई थियो । पछिल्लो समय विज्ञान र प्रविधिको विकाससँगै मानिस व्यावहारिक रूपमै आफूलाई अनुकूल र सहज हुने ठाउँमा पुगेका कारण हात्ती आगमन सूचना प्रविधि केन्द्रले यसमा केही न्यूनीकरण गर्ने सभामुख घिमिरेले विश्वास व्यक्त गरे ।
बाहुनडाँगी भारतबाट नेपालमा हात्ती प्रवेश गर्ने मुख्य गौडा हो । जहाँ दैनिकजसो दर्जनौंको संख्यामा हात्तीहरु नेपाल पस्ने गर्छन् । सर्वसाधारणलाई बस्तीमा हात्ती प्रवेश गरेको जनाउ दिने डिजिटल प्रविधिको प्रयोगले यो समस्या केही हदसम्म कम हुने भन्दैं सभामुख घिमिरेले यसको भरपूर प्रयोग गर्न समेत स्थानीयवासीलाई अनुरोध गरे ।