झापा, असार २१ । प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिने भएका छन् ।

कांग्रेस र एमालेले गठबन्धन गरेर नयाँ सरकार बनाउने सहमति गरेसँगै प्रधानमन्त्री दाहालले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने माग उठिरहेको छ । तर प्रधानमन्त्री दाहालले भने संविधानको व्यवस्थाबमोजिम विश्वासको मत लिने तयारी अघि बढाएका हुन् ।

प्रधानमन्त्री दाहालले असार २८ गते विश्वासको मत लिने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । उनका अनुसार प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रयोजनका लागि संसद् सचिवालयलाई पत्राचार समेत गरिसकेका छन् ।

एमालेले बुधबार मात्रै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमाले ८ जना मन्त्रीहरुले राजीनामा दिएका थिए । गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ समीकरण बनाउँदै सरकार गठन र संविधान संशोधनलगायत मुद्दा अघि बढाउने सहमति भएको थियो।

यसैबीच नेकपा एमालेपछि जनता समाजवादी पार्टी पनि सरकारबाट बाहिरिएको छ । उक्त पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता अशोककुमार राईले शुक्रबार प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् । पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै उक्त पार्टीबाट मन्त्री बनेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, बन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य राज्यमन्त्री हसीना खानले पनि राजीनामा दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्