झापा,असार २२ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्नमा हौसला प्रदान गर्न विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ। पालिकाको शैक्षिक सुधार गर्नमा योगदान गर्ने उत्कृष्ट विद्यालय, शिक्षक र बिद्यार्थीलाई गाउँपालिकाले सम्मान गरेको हो।

गाउँपालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)का अनुसार उत्कृष्ट नतिजा ल्याएका विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान गरिएको हो। शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले अवलम्बन गरेको योजनालाई सहयोग पुग्नेगरी उत्कृष्ट नतिजा ल्याउन सफल विद्यालय, शिक्षक र बिद्यार्थीलाई थप हौसला प्रदान गर्नका लागि सम्मान गरिएको अध्यक्ष लिम्बूले बताए ।

उनका अनुसार विद्यालय प्रशासन, सुशासन तथा शैक्षिक क्षेत्र सुधारका लागि कार्यसम्पादनमा अब्बल देखिएका गाउँपालिकाभित्रका चारवटा सामुदायिक विद्यालयलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा सिँवा माध्यमिक विद्यालय, सरस्वती माध्यमिक विद्यालय, सुनदेवी माध्यमिक विद्यालय र रानी आधारभूत विद्यालय रहेका छन्। उक्त विद्यालयहरुलाई प्रोत्साहन स्वरुप प्रसंशापत्र र प्रोजेक्टर प्रदान गरिएको गाउँपालिकाले जनाएको छ।

यस्तै विद्यालयमा नियमितता, शिक्षण पेशामा लगनशिलता र अनुशासन प्रदर्शनका आधारमा १० जना शिक्षक र कर्मचारीलाई सम्मान गरिएको छ। सम्मानित हुने शिक्षकमा पार्वती माध्यमिक विद्यालयका योगेन्द्र दाहाल, सरस्वती च्यारिबुक माध्यमिक विद्यालयका छत्रबहादुर शाही र कल्पना अधिकारी राउत, महेन्द्र आधारभूत विद्यालयका डिकबहादुर खड्का, सरस्वती माध्यमिक विद्यालयका सुशीला सुब्बा र सुधीरकुमार पासवान रहेका छन् ।

सरस्वती च्यारिबुक माध्यमिक विद्यालयकै शिक्षक राजकुमार लिम्बू, रबिकला माध्यमिक विद्यालयका काशीनाथ मण्डल, सिँवा माध्यमिक विद्यालयका निर्मला तामाङ, भीमा नेपाल र सोही विद्यालयका कर्मचारी (कार्यालय सहयोगी) बुद्धिमान श्रेष्ठ सम्मानित भएका छन् । त्यस्तै गाउँपालिकाले उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई नगदसहित सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष रवीन साम्रा (विकास) ले जानकारी दिए ।

उपाध्यक्ष साम्रा लिम्बूका अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ मा सुनदेवी माध्यमिक विद्यालयबाट सहभागी भई उत्कृष्ट नतिजा ल्याउने अर्चना राई र विश्व माबोहाङ लिम्बूलाई सम्मान गरिएको छ। त्यस्तै २०८० को एसईईमा पार्वती माध्यमिक विद्यालयबाट सहभागी भई उत्कृष्ट नतिजा प्राप्त गर्ने अर्जुन लिम्बू र सिँवा माध्यमिक विद्यालयबाट सहभागी भई उत्कृष्ट नतिजा ल्याउने बिना लिम्बू, कोपिला तामाङ तथा निस्मा शेर्पालाई सम्मान गरिएको छ। सम्मानित विद्यार्थीलाई समान १० हजार रुपियाँका दरले नगद प्रदान गरिएको छ।

यसैगरी कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने सिँवा माविका प्रवीन तामाङ र सरस्वती च्यारिबुक माविकी रन्जिता लिम्बूलाई सम्मानसहित १२ हजार रुपियाँका दरले नगद प्रदान गरिएको छ। आधारभूत तहअन्तर्गत कक्षा ८ को वार्षिक परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने सरस्वती माविका नामसिंह ताप्मादेन र सुनदेवी माविकी सुजता लिम्बूलाई समान आठ हजार रुपियाँ नगदसहित सम्मान गरिएको छ। यसरी विद्यालय, शिक्षक, कर्मचारी र विद्यार्थीलाई हौसला प्रदान गर्न गरिएको सम्मानले पालिकाको शैक्षिक गुणस्तर सुधार गर्नमा थप बल पुग्ने विश्वास राखिएको गाउँपालिका अध्यक्ष लिम्बूको भनाइ छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्