झापा,असार २३ । शुक्रबारदेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले देशभर बिजुलीको उत्पादन प्रभावित बनेको छ । शनिवार मात्रै देशभर ६४० मेगावाट क्षमताका जलविद्युत आयोजना प्रभावित बनेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।
यस्तै देशका केही स्थानमा बिजुलीको पोल तथा तारमा समेत क्षति पुगेको प्राधिकरणको भनाई छ । प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले शनिवार आएको बाढीले देशभरका ६४० मेगावाट क्षमताका जलविद्युत आयोजनाको उत्पादन प्रभावित बनेको बताए । तर यो क्षति सामान्य खालको भएको घोषको भनाई छ ।
‘ठुलो क्षति होइन । बाढीका कारण उत्पादन प्रभावित बनेको मात्रै हो,’ घोष भन्छन्, ‘हेडबक्स जोगाउनका लागि सबै आयोजनाले सुरक्षा सतर्कता अपनाएका थिए । अधिकांश आयोजनाले आजैदेखि उत्पादन सुरु गरिसके ।’ सञ्चालनमा रहेको देशकै ठुलो जलविद्युत परियोजनाको सूचीमा रहेको माथिल्लो तामाकोसीबाट समेत उत्पादन ठप्प भएको थियो ।
शनिवार आएको बाढीका कारणले ४५६ मेगावाट क्षमताको यो आयोजनाको उत्पादन समेत प्रभावित बनेको हो । यसबाहेक अन्य स्थानका आयोजनाको उत्पादन समेत रोकिएको थियो । यस्तै १० मेगावाटको सुनकोसी र ६० मेगावाटको माथिल्लो त्रिशूली ए जलविद्युत आयोजनाको समेत शनिवार उत्पादन रोकिएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरण र प्राधिकरणका सहायक कम्पनीको कूल ५२६ मेगावाट बिजुली उत्पादन प्रभावित बनेको थियो । तर यी आयोजनामा ठुलो क्षति भने पुगेको छैन । बाढीको लेदो पसेको भेटिएमा सरसफाइमा ५–७ घण्टासम्म लाग्छ । आयोजनामा बाढीको लेदो पसेको सफा गरेपछि आयोजनाले उत्पादन नै सुरु गरिसेकेका हुन् । स्वतन्त्र ऊर्जा उत्पादनको लगानीमा सञ्चालित आयोजनाको कूल ११४ मेगावाट क्षमताका बिजुली उत्पादन प्रभावित बनेको थियो ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्की बाढीका कारण उत्पादनमा थप क्षति नहोस भनेर प्लान्टबाट उत्पादन रोकिएको बताउँछन् । निजी क्षेत्रद्वारा प्रवर्द्धिधत ३६ मेगावाटको बलेफी, २० मेगावाटको तल्लो मोदी, १८ मेगावाटको मध्य मोदी र ४० मेगावाटको माथिल्लो चमेलियाको उत्पादन रोकिएको थियो । यी आयोजनाको हेडबक्समा बाढी पस्ने डरले उत्पादकले शनिवार बन्द गरेका हुन् ।

‘आयोजनामा ठुलो क्षति पुगेको छैन, उत्पादन प्रभावितचाहिँ बनेको छ,’ कार्कीले भने, ‘अधिकांशले सरसफाइपछि आयोजना सञ्चालनमा ल्याइसकेका छन् ।’ केही आयोजनाले भने न्यून क्षमतामा चलाइरहेका छन् । ती आयोजनाले बाढी पस्ने डरले न्यून क्षमतामा चलाइरहेका हुन् । अध्यक्ष कार्कीका अनुसार बाढी पसेमा क्षति कम होस् भनेर न्यून क्षमतामा उत्पादन गरिन्छ । उत्पादन क्षमताभन्दा न्यून बिजुली उत्पादन गर्नेमा लिखु, मध्य तमोर, मोदी, त्रिशूली, देवीघाट र चमेलिया लगायत छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्