हत्या गरिएका ४ मध्ये दुई नेपाली र एक भारतीय भएको पुष्टि, एकको अझै हुन सकेन सनाखत

झापा, असार २४ । भारतको पूर्वोत्तर राज्य मेघालयस्थित कोइलाखानीमा हत्या गरिएका चार कामदारमध्ये दुईजना नेपाली भएको पुष्टि भएको छ ।

शनिबार मारिएका चारै जना नेपाली भएको बताइए पनि हिजो साँझसम्म दुई जना नेपाली रहेको खुलेको हो । मेघालयको जयन्तिया हिल्सस्थित उम्प्लेङ गाउँमा हत्या गरिएकामध्ये एक भारतीयको पनि परिचय खुलेको छ । बाँकी एक जनाको सनाखत हुन नसकेको स्थानीय प्रहरी प्रशासनले जनाएको छ ।

हत्या भएका एकजना नेपाली इलाम–२ का २३ वर्षीय रवि राई हुन् । त्यस्तै साविक कोशी अंचलका २७ वर्षीय राजेश राई पनि सो घटनामा मारिएको भारतीय संचारमाध्यमले जनाएका छन् । उनको स्थानीय ठेगाना धरान सुनसरी भएको खुलेको छ ।

मेघालयको उक्त घटनामा हत्या गरिएकामध्ये परिचय खुलेका अर्का भारतीय नागरिक नसर डाकिया हुन् । उनी सोही राज्यमा बसोबास गर्छन् । चार जनाको हत्या भएपछि मेघालयका एसपीको नेतृत्वमा एउटा स्पेसल अनुसन्धान टोली गठन गरिएको बताइएको छ । मेघालय प्रहरीका अनुसार हत्या भएका चारै जनाको घटनास्थलमा हातखुट्टा बाँधिएको अवस्थामा भेटिएको थियो भने उनीहरू सबैलाई धारिलो हतियारले आक्रमण गरिएको पाइएको हो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्