लक्ष्मी उप्रेती,

मेचीनगर । झापाको मेचीनगरमा दैनिकजसो हुने बाँदर आतंकले स्थानीयवासी हैरान भएका छन् ।

मेचीनगर नगरपालिका वडा नम्बर ५, ११ र १२ मा बाँदरले खेतबारीमा लगाएको बालीमा क्षति पुर्याउन थालेको हो । नजिकैको जंगलबाट ठूलो संख्यामा आउने गरेका बाँदरले मेचीनगरका विभिन्न वडाका गाउँबस्तीमा पसेर स्थानीयवासीको घरको अन्न तथा फलफूलसमेत खाइदिने गरेका छन् । बाँदरकै कारण पछिल्लो समय कोदोको खेती गर्न किसानले छाडेका छन् । बाँदरले किसानले लगाएको कोदो खेतीमा क्षति पुर्याउन थालेपछि कोदो खेती गर्न छाडेको वडा नम्बर—५ की तेजीमाया राउतले बताइन् । मेचीनगर ५ घोडाजीन टोल विकास संस्थाका बासिन्दा बाँदर आतंकबाट बढी मारमा परेको एकरुपता महिला समूहकी अध्यक्षसमेत रहेकी राउतको भनाई छ ।

किसानहरु खेतबारीको मात्र होइन, बाँदरका कारण घरभित्र राखेको अन्नसमेत कसरी जोगाउने भन्ने चिन्तामा छन् । नजिकैको जंगलबाट गाउँ छिरेर बाँदरले अन्नबालीमा नोक्सानी पुर्याउन थालेपछि बाँदर आतंकका कारण गाउँ नै छाड्न बाध्य हुनुपर्ने अवस्थाको सिर्जना हुन लागेको पीडितहरुको भनाई छ ।

‘गाउँको बीचमा भएको खेती मात्र होइन घरभित्र भण्डारण गरिएको अन्नसमेत जोगाउन नसकेर हैरान पारिसक्यो, अब त गाउँ नै छाड्नुपर्ने अवस्था सिर्जना भएको र गाउँ छाड्नु बाहेक विकल्प छैन ’ स्थानीय बन्धनध्वज राई बताउँछन् । बगैचामा लगाएका आँप, लिची कटहरलगायतका फलफूल समेत बाँदरले खाएर नष्ट गर्ने गरेका छन् ।

फलफूल केही बाँकी नराखेर घर–घरमै भित्रै पसेर समेत खान थालेपछि बाँदर आतंकले गर्दा उत्पादन गर्न नपाएपछि बाँच्ने विकल्प नभएका कारण गाउँ नै छाड्ने अवस्थामा पुगेकोे वडा नम्बर —११ का बासिन्दा योगेश भट्टराईको भनाई छ । कानूनले बाँदर मार्न पाइँदैन, बाँदरले स्थानीयलाई बाँच्न नदिएपछि अब सबै गाउँले मिलेर हेरालु राख्ने अभियान चलाउने स्थानीयवासीले सोच बनाएका छन् । बिहानदेखि बेलुकीसम्म बारीमा बसेर बाँदर हेर्दासमेत अन्न जोगाउन नसकिएको भट्टराईको भनाई छ । मेचीनगरका यी तीनवटा वडासहित नगरका अधिकांश क्षेत्रमा बाँदरले सताउने गर्दछ ।

वनजंगलमा खानेकुरा नपाएपछि बाँदर बस्ती पस्न सुरु गरेको र घरभित्र पसेर खानेकुरा खाने गरेको गुनासो स्थानीयको छ । केही दिनअघि फाट्टफुट्टरुपमा देखिएको बाँदरको संख्या पछिल्लो समय ह्वात्तै बृद्धि भएको छ । गाउँमा बाँदरको संख्या बढेपछि अन्नबाली बचाउनै मुश्किल परेको स्थानीय रमा धिमालको भनाई छ । मेचीनगरकी स्थानीय हरिमाया कार्की भन्छिन् “साँझ बिहान ठूलो संख्यामा आउने बाँदरहरुले घरभित्र पसेर अन्न तथा फलफूलसमेत खाइदिने गरेका कारण आफूहरु हैरान भएका छौं।” बाँदरले गाउँलेमाथि आक्रमणसमेत गर्ने गरेको उनले बताइन् । गाउँलेलाई बाँदरले दुःख दिन थालेपछि स्थानीय प्रहरी प्रशासनसँग स्थानीयवासीले सुरक्षा मागेका छन् ।

स्थानीयको मुख्यः पेशा नै कृषि भएकाले बाँदरबाट बर्सेनि कृषि उपज नष्ट गर्ने कारण समस्या भएको उनको भनाइ छ । बाँदर नियन्त्रणका लागि देशका अन्य स्थानमा बाँदर धपाउने यन्त्र ल्याएको सुनेको भएपनि आफ्नो ठाउँमा चाँहि नपाएको स्थानीयको भनाई छ । वडावासीले स्थानीय सरकार र डिभिजन बन कार्यालय झापालाई बाँदर नियन्त्रण गर्ने उपाय खोजी गरिदिन आग्रह गरेका छन् । बाँदरका कारण मेचीनगरको ७ र ८ नम्बर वडावासीसमेत प्रभावित भएकाले पीडित किसानको माग अनुसार बजेट व्यवस्था गरेर बाँदर नियन्त्रणका लागि योजना अघि सार्न स्थानीयले मेचीनगर नगरपालिकासँग माग गरेका छन् ।

डिभिजन बन कार्यालय झापाका प्रमुख मेघराज राईले जिल्लामा बाँदर नियन्त्रणको लागि कुनै कार्यक्रम नभएको प्रतिक्रिया दिए । बाँदर नियन्त्रणको लागि अहिलेसम्म अपनाएका सबै उपाय दीगो नभएकाले कार्यालयले पनि कुनै ठोस कार्यक्रम नराखेको उनको भनाई छ । ‘नेपाल सरकारले हानिकारक जनावरको सूचीमा राखेका १४ वटा जनावरमा बाँदर पर्दैन’ वन अधिकृत राईले भने ,‘सूचीमा नपरेका जनावरबाट बालीनाली तथा मानवमा क्षति पुर्याए राहत दिने निर्देशिकामा उल्लेख नभएपछि बाँदरबाट पीडितले सरकारबाट कुनै पनि राहत पाउँदैनन् ।’

सरकारले हात्ती, अर्ना, बाघ, भालु चितुवा, ध्वाँसे चितुवा, अजिंगर, हिम चितुवा, गौरीगाई बँदेललगायतका १४ वटा जनावरलाई हानिकारक जनावरको सूचीमा राखेको छ । बाँदर नियन्त्रणका लागि घरेलु विधि तथा पासो अपनाउनु पर्ने राईको सुझाव छ । तर,अन्य जनावरको तुलनामा बाँदर अलि बाठो हुने भएकाले पासो थापेको थाहा पाउनेवित्तिकै वैकल्पिक मार्ग खोज्न थाल्ने उनको भनाई छ । अहिले पनि बाँदरपीडितहरु डिभिजन बन कार्यालयमा समस्या लिएर आउने गरेको उनले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्