झापा, असार २५ । विराटनगरमा गएराति एक युवकको हत्या भएको छ। १७ वर्षीय किशोरसहित दुई जना घाइते भएका छन्।

विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकमनजिक धारिलो हतियार प्रहार गरेर मोरङ कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको हत्या गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए। उनका अनुसार बाटोमा हिँड्दै गरेकाहरुले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर राति १० बजेतिर उपचारका लागि विराटनगरको कोशी अस्पताल लगेका थिए। गम्भीर अवस्थाका कामतको उपचारका क्रममा मृत्यु भएको कार्कीले बताए। उनका अनुसार मृतक कामतको छात्ती र कम्मरको भागमा धारिलो हतियारले रोपेजस्तो चोट देखिन्छ। शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ।

घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएको एसपी कार्कीले बताए। घाइतेमध्ये कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। पाखुरा र ढाडमा चोट देखिएका मण्डलको अवस्था मध्यम छ। उनी बोल्न सक्ने अवस्थामा छन्। कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ।

घटना कसले गराएको हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका घाइते एवं मृतकबीच नै झैझगडा भएर घटना भएको हुनसक्ने अनुमान पनि गरिएको छ। यद्यपि, अनुसन्धानपछि सबै कुरा पत्ता लाग्ने एसपी कार्कीले बताए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्