विनोद सापकोटा
झापा, असार २५ ।नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेसंगको पछिल्लो समीकरणमा बन्न लागेको सरकारमा आफू मन्त्री नहुने बताएका छन् ।

कांग्रेस महामन्त्री शर्मा मन्त्री हुने विषयमा चर्चा चलिरहेका बेला उनले आफू मात्र होइन, अर्का महामन्त्री गगन थापा पनि मन्त्री हुने सम्भावना नरहेको बताए । ‘गगनजीले पनि मन्त्री बन्ने विषयमा अनिच्छा देखाउनु भएको छ,’ उनले भने ।
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा महामन्त्री शर्मा मन्त्री बन्ने विषयमा आम नागरिकले जिज्ञासा राखिरहेका बेला उनले आफू मात्र नभएर अर्का महामन्त्री गगन थापा पनि मन्त्री नहुने स्पष्ट पारे । उनले झापाबाट प्रधानमन्त्रीसहित नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला मन्त्री हुने विषयमा भने नेतृत्व तहमा कुरा भइरहेको खुलाए ।

उनले भने, ‘एमाले पार्टी अध्यक्ष केपी कमरेडको नेतृत्वमा सरकारमा जान्छ । नेपाली कांग्रेस कृष्ण दाईको नेतृत्वमा सरकारमा जान सक्ने बलियो सम्भावना छ ।’ ‘यही मन्त्रालय भन्ने विषयमा तर्क नगरौ तर पार्टीभित्र कृष्ण दाईको नेतृत्वमा सरकारमा जाने संभावना बलियो छ’ उनले अगाडि थपे ।

झापाको शिवसताक्षीस्थित नेपाली कांग्रेसका सभापति अशोक बस्नेतलगायत स्थानीय कार्यकर्तासंगको संक्षिप्त भेटमा महामन्त्री शर्माले भने ‘प्रधानमन्त्री पुष्पकमल दाहालले असार २८ मा संसदमा विश्वासको मत फेस गरेपछि मन्त्रीकोे नामसहितको सूची सार्वजनिक हुन्छ । त्यो सूचीमा पूर्वमहामन्त्री कृष्ण सिटौलाको नाम पनि रहन्छ ।’

तर, कृष्णप्रसाद सिटौलाले मन्त्री बन्न आफ्नो रुचि नरहेको यसअघि नै बताएका छन् । पत्रकारसंग सोमवार राति बोल्दै सिटौलाले आफू सरकारमा नजाने तर सरकारलाई सक्दो सहयोग गर्ने बताएका थिए । सिटौला हाल राष्ट्रियसभामा कांग्रेस संसदीय दलका नेता हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्